
पोखरामा एनसेल छैटौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरू यस संस्कणको प्रतियोगिता शुक्रबार एक समारोहबीच भब्य उद्घाटन गरिएको छ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रतियोगिताको एक भब्य कार्यक्रमबीच उद्घाटन गरेका हुन्।
प्रदेश प्रमुख भट्टले कार्यक्रममा आफ्ना भनाई राख्दै खेलकुद स्वास्थका लागि मात्रै नभई राष्ट्रको अर्थतन्त्र माथि उठाउने महत्वपूर्ण माध्यम रहेको उल्लेख गरे।
उनले प्रदेशको खेल क्षेत्रमा लगानीका लागि प्रदेश सरकार प्रयत्नशील रहेको जनाए।
उनले सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएको उल्लेख गरे।
उनले भने, ‘नेपाल जस्तो भौगोलिक र सानो ठाउँमासमेत भलिबल खेल खेल्न सकिने भएको र सबैको पहुँचमा रहेको कारणले पनि भलिबल खेलको लोकप्रियता बढेको छ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपालले उत्कृष्टता हासिल गर्न सफल भएको प्रदेश प्रमुख भट्टले जनाए।
खेलाडीहरुलाई आर्थिक उपार्जनमासमेत भलिबल खेल महत्वपूर्ण रहेको उनको भनाई थियो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले कार्यक्रममा आफ्नो भनाई राख्दै पोखरा जस्तो पर्यटकीय शहरमा आएर भलिबल खेलको उद्घाटनमा उपस्थित हुन पाउँदा आफूलाई निकै गौरव र खुसीको महशुस भएको उल्लेख गरे।
उनले नेपाली युवाहरुले मुलुकको परिवर्तनका लागि खेलेको भूमिकाप्रति खुसीसमेत व्यक्त गरे।
नेपाल र नेपालीहरु संस्कृती र प्रकृतिको मात्रै धनी नभई मनको पनि उत्तिकै धनी भएको उनले उल्लेख गरे।
यसैगरी, नेपाल भलिबल संघका महासचिब रोशन श्रेष्ठले टाइगर ग्रुपले आयोजना गरेको प्रतियोगिताले नेपाली भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको औंल्याए।
नेपालको राष्ट्रिय खेल भलिबल विकासका लागि आफ्नै कभर्डहल निर्माण गर्नका साथै सातवटै प्रदेशमा प्रदेशस्तरीय खेल मैदान निर्माणका लागि संघले पहल गरिरहेको उनको भनाई थियो।
टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष शर्माले मुलुकको विषम परिस्थितिमा समेत आफूहरुले यो प्रतियोगितालाई निरन्तरता दिएको जनाए।
भलिबल खेलमार्फत पोखरालाई विश्वसामु चिनाउन पहल गरेको शर्माको भनाई थियो।
शर्माले भने, ‘छैटौं संस्करणमा आइपुग्दा टाइगर कप ब्राण्ड बनेको छ। यो ब्राण्डको रुपमा स्थापित गर्न भूमिका खेल्ने सबैमा म संस्थाको तर्फबाट आभार व्यक्त गर्दछु।’
उद्घाटन कार्यक्रममा न्यू डायमण्डका प्रशिक्षक कुमार राईलाई भलिबल खेलको विकासमा पुर्यााएको योगदानको कदर गर्दै सम्मान गर्यो।
यस्तै, भलिबलका पूर्व राष्ट्रिय खेलाडी राजकुमार अधिकारीलाई सम्मान गर्यो।
त्यस्तै, २२ ओै पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइस अवार्ड जितेका गण्डकीका भलिबल खेलाडी हिमाल सुनारीलाई सम्मान गर्यो।
माघ १७ गतेसम्म चल्ने च्याम्पियनसीपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले प्रतिस्पर्धा गर्दैछन्।
च्याम्पियनसीपमा पुरुष र महिला दुवैतर्फ विजेता टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार पाउनेछन्।
तेस्रो हुने टोलीले १ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार पाउनेछन्।
सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६६६ पुरस्कार पाउनेछ।
त्यस्तै, विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ पुरस्कार पाउनेछन्।