
छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपको पहिलो दिन पुरुषतर्फ विभागीय शसस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब र महिलातर्फ न्यु डायमण्ड स्पोर्टस क्लबले विजयी सुरुआत गरेका छन्।
पहिलो खेलमा महिलातर्फ न्यु डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
न्यु डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित निकाल्दै सहज सुरुआत गर्यो।
पुरुषतर्फ आर्मीले माल्दिभ्स भलिबल एशोसिएसनलाई सोझो सेटमा पराजित गर्न सफल रह्यो।
आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा नतिजा निकाल्यो।
आजको अन्तिम तथा तेस्रो खेलमा विभागीय एपीएफले घरेलु गण्डकी प्रदेशलाई स्तब्ध पार्यो।
पहिलो सेट २६–२४ र दोस्रो सेट २७–२५ ले रोमाञ्चक जीत निकालेको एपीएफले तेस्रो सेट गण्डकीलाई सुम्पियो।
तेस्रो सेट गण्डकीले २५–१९ ले आफ्नो पक्षमा पार्दा खेल चौथो सेटमा पुग्यो।
चौथो सेटमा विभागीय एपीएफले २५–२१ ले आफ्नो पक्षमा पार्दै जीतको सुखद सुरुआत गर्यो।
प्रतियोगिताअन्तर्गत भोलि शनिबार ४ खेल हुनेछन्।
पहिलो खेलमा महिलातर्फ विभागीय डर्बी नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ।
उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ।
भोलिको दोस्रो खेल महिलातर्फ विभागीय एपीएफ र थाइल्याण्ड क्वीन्सबीच हुने तालिका छ।
महिलातर्फको २ खेलपछि पुरुषतर्फका खेल हुनेछन्।
पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एशोसिएनबीच हुनेछ।
दुवै टोली पहिलो खेलमा पराजित भएका टोली हुन्।
पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबीच हुनेछ।