काउन्सिल र अन्तर्राष्ट्रिय संचार माध्यमका पत्रकारबीच छलफल

वरिष्ठ पत्रकार युवराज घिमिरेद्वारा पत्रकारिताको महत्व र पत्रकार आचारसंहिताबारे सहजीकरण

जनसम्मत
पौष २८, २०८२, सोमबार

नेपाल प्रेस काउन्सिल र अन्तर्राष्ट्रिय संचार माध्यममा कार्यरत पत्रकारबीच छलफल गरिएको छ।

काउन्सिलले पत्रकार आचारसंहिता कार्यान्वयनबारे सोमबार अन्तर्राष्ट्रिय संचार माध्यमका पत्रकारसँग छलफल गरेको हो।

प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता कार्यान्वयनका सन्दर्भमा अन्तर्राष्ट्रिय संचार माध्यममा कार्यरत पत्रकारसँग छलफल/अन्तरक्रिया विषयक कार्यक्रम’ को आयोजना गरेको हो।

कार्यक्रममा दूरदर्शन र एआईआरका लागि कार्यरत श्वेता सिंह, एएफपीका लागि कार्यरत प्रकाश माथेमा र पावन माथेमा, इन्डिया टुडे समूहका पंकज दास, डब्ल्यूआईओएनकी सलोनी मुरार्का, चाइना मिडिया ग्रुपकी वर्षा (झाङ युए), प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का शिरीष बी. प्रधान, निम्जेनका रजनिश भण्डारी तथा एसिया प्यासिफिक डेलीकी सृष्टि काफ्लेलगायतले नेपालमा रिपोर्टिङ गर्दाको जटिलता, आचारसंहितको पालना विषयमा आ–आफ्नो धारणा राखे।

कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा प्रेस काउन्सिल नेपालका सदस्य–सचिव छबीन्द्र पराजुली, प्रेस काउन्सिलका सदस्य भीमलाल श्रेष्ठ र मुख्य अधिकृत झबिन्द्र भुसालले प्रेस काउन्सिल नेपालले गरिरहेको अनुगमन, आचारसंहिता पालनाको अवस्था र सूचना तथा प्रसारण विभागबीचको सम्बन्धबारे जानकारी गराए।

वरिष्ठ पत्रकार युवराज घिमिरेले पत्रकारिताको महत्व र पत्रकार आचारसंहिताबारे सहजीकरण गरेका थिए।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यको प्रमुख आतिथ्यता र काउन्सिलको अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिका संयोजक कुमारी निमा काफ्लेको सभापतित्वमा अन्तरक्रिया एवं छलफल गरिएको थियो।