६ महिनाभित्र प्रेस काउन्सिलमा १६३ उजुरी दर्ता

उजुरीमध्ये १ संचारमाध्यम कालोसूचीमा, ७७ को खण्डन, १४ को क्षमायाचना र भुलसुधार

जनसम्मत
माघ ८, २०८२, बिहीवार

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रेस काउन्सिल नेपालमा १६३ वटा उजुरी दर्ता भएका छन्।

काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म ती उजुरी प्राप्त भएका हुन्।

काउन्सिलका सह–प्रवक्ता रामशरण बोहराका अनुसार दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताअनुसार प्रक्रिया अघि बढाउँदा ७७ वटा खण्डन सम्प्रेषण गरिएको छ।

त्यस्तै, ५२ वटा उजुरीमा पेस भएको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको छ।

यस्तै, १४ वटा उजुरीमा क्षमायाचना तथा भुलसुधार गराइएको छ ।

यस अवधिमा ५ संचारमाध्यमले सामग्री स्थगन गरेका छन् भने १० वटासँग स्पष्टीकरण सोधिएको छ।

यसैगरी, ५ वटा संचारमाध्यमलाई निर्देशन तथा सचेत गराइएको छ।

त्यस्तै, १ संचारमाध्यमलाई अवज्ञाकारी ठहर गर्दै कालोसूचीमा राखी कारबाही गरिएको काउन्सिलले जनाएको छ।

प्रेस काउन्सिलले सोही अवधिमा ६३२ वटा मिडिया, वेब पोर्टल तथा सामाजिक सञ्जालसँग सम्बन्धित ७४४ सामग्रीको स्वअनुगमनसमेत गरेको छ।

तीमध्ये ४४७ वटा मिडिया र १८५ वटा गैरमिडियाका सामग्रीहरु छन्।

आचारसंहिता उल्लंघनको गंभीरताका आधारमा १३६ वटा मिडिया र २७ वटा गैरमिडियालाई निर्देशन तथा सचेत गराइएको छ।

सम्पर्क नदेखिएका २० वटा गैरमिडियाका सम्बन्धमा भने अनुसन्धान गरी कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको छ।

काउन्सिलले निर्वाचन आचारसंहिता लागू भएको सन्दर्भमा पत्रकारिता र संचारमाध्यमले निर्वाचनलाई असर पार्ने किसिमका आधारहीन, अप्रमाणित, भ्रामक तथा चरित्रहत्या गर्ने सामग्री प्रकाशन नगर्न विशेष सतर्कता अपनाउन आग्रहसमेत गरेको छ।

साथै, द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच), दुष्प्रचार र मिथ्या सूचना रोक्न संचारमाध्यम, पत्रकार तथा संचारकर्मी सजग रहनुपर्ने उल्लेख गरिएको छ।

पत्रकारिताका मूल्य–मान्यता विपरीत गैरपेसागत आचरण, तथ्य परीक्षणबिना सामग्री सम्प्रेषण तथा सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह र उत्तेजना फैलाउने कार्य गैरकानुनी भएको भन्दै यस्ता गतिविधि नगर्न काउन्सिलले सबै संचारकर्मीलाई अपिलसमेत गरेको छ।

हेरौं, काउन्सिलको विज्ञप्ति