
गण्डकी प्रदेशकै जेठो संस्कृत माध्यमिक विद्यालय, पोखराले १२५ औं अभिभावक दिवस मनाएको छ।
पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले एक समारेहबीच अभिभावक दिवसको उद्घाटन गरे।
महाशाखा प्रमुख आचार्यले कार्यक्रममा बोल्दै गण्डकी प्रदेशको ऐतिहासिक यस विद्यालयले पछिल्ला वर्षमा शैक्षिक गुणस्तर बढाउँदै गएको उल्लेख गरे।
विद्यालयलाई महत्वपूर्ण शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए।
विद्यालयका तर्फबाट महाशाखाबाट निरन्तर सहयोग भैरहेको आचार्यले औंल्याए।
उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुुप्रसाद अधिकारीले विद्यालयको भौतिक विकाससँगै शैक्षिक गुणस्तरीयताका लागि निरन्तर प्रयास गरिएको उल्लेख गरे।
विद्यालयले कक्षा ११ र १२ का कक्षा पनि संचालन गरिरहेको उनले बताए।
उनले यसको दीगो संचालनका लागि दरबन्दीको व्यवस्थापन जरुरी रहेको धारणा राखे।
विद्यालयमा आफू नेतृत्वमा आएपछि भौतिक एवं शैक्षिक गुणस्तरीयता अभिबृद्धिमा महत्वपूर्ण उपलब्धि हासिल भएको उनले दाबी गरे।
उनले भने, ‘म आफू नेतृत्वमा आउँदा विद्यालयको अक्षयकोष ७ लाख ७८ हजार रुपैयाँ रहेकोमा उक्त कोषलाई बढाएर ६७ लाख रुपैयाँ पुुर्याइएको छ। १२५ औं अभिभावक दिवसका अवसरमा आज मात्रै उक्त कोषमा थप डेढ लाख रुपैयाँ रकम थप भएको छ।’
विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले हाल २२२ जना विद्यार्थी अध्ययरत विद्यालयमा ६५ जना विद्यार्थीले आवासीय रुपमा अध्ययन गरिहेको जानकारी गराए।
शैक्षिक गुणस्तरीयतालाई प्राथमिकतामा राखी विद्यालय निरन्तर कृयाशिल रहेको उनको भनाई छ।
कार्यक्रमका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, पूर्व प्रधानाध्यापक अक्षयकोषदाता दामोदर बास्तोला र पूर्व कार्यालय सहयोगी सूर्यबहादुर घर्तीलाई सम्मान गरिएको थियो।
उनीहरूलाई दोसल्ला र सम्मान–पत्रसहित पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन्।
पत्रकारिताको माध्यमबाट संस्कारसहितको शिक्षा, समाज, संस्कृति र जनसरोकारका विभिन्न विषयहरूमा निर्भीक र निष्पक्ष रुपमा कलम चलाउँदै चेतनशील समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पौडललाई सम्मान गरिएको हो।
विद्यालयमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्व प्रधानाध्यापक अक्षयकोषदाता दामोदर बास्तोला र पूर्व कार्यालय सहयोगी घर्तीलाई सम्मान गरिएको हो।
त्यस्तै, विद्यालयका पूर्व संस्थापक अध्यक्ष स्व.भोलानाथ पराजुलीलाई मरणोपरान्त सम्मान गरिएको थियो।
विद्यालयका माध्यमिक तहका शिक्षकहद्व कलादेवी बराल र रामु पौडेल एवं आधारभूत तहका शिक्षकहरू लक्ष्मी देवकोटा, इन्द्रमाया बास्तोला र सरला थापालाई उक्त अवसरमा सम्मान गरिएको थियो।