
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले खराब सुरुआत गरेको छ।
आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो।
नेपालले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो।
थाइल्यान्डकी नथ्थकन चान्थमले अविजित ५७ रन बनाइन्।
नेपालकी सीता रानामगरले २ विकेट लिइन्।
यसअघि, कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा १ सय २२ रन बनाउँदा सबै विकेट गुमायो।
नेपालकी बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्।
थाइल्यान्डकी थिपाच्चा पुथावाङले ३ विकेट लिइन्।
१० टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ।
प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन्।
‘सुपर–सिक्स’ बाट शीर्ष ४ वटा टोली आउँदो वर्ष इंग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन्।