
आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले पहिलो जीत निकालेको छ।
कीर्तिपुरको त्रिवि मैदानमा शनिबार भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले हरायो।
जिम्बावेले दिएको १ सय ३० रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो।
नेपालकी पूजा महतोले सर्वाधिक ५२ रन बनाइन्।
जिम्बावेकी जोसेफिन एनकोमोले २ विकेट लिइन्।
यसअघि, टस हारेर ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो।
जिम्बावेकी केलिस एनध्लोभुले नटआउट ५२ रन बनाइन्।
नेपालकी रिया शर्माले २ विकेट लिइन्।
यो जीतसँगै नेपालले प्रतियोगिताको ‘सुपर सिक्स’ मा पुग्ने झिनो संभावना कायम राखेको छ।
यसअघि, नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो।
त्यस्तै, दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।
अब, नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग खेल्नेछ।
१० टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ।
प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन्।
‘सुपर–सिक्स’ बाट शीर्ष ४ वटा टोली आउँदो वर्ष इंग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन्।