
पोखरामा २६ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ।
आदर्श युवा क्लबको आयोजनामा पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिता, १६ माघसम्म सचालन हुनेछ।
प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।
‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने मूलनारासहित संचालित प्रतियोगितालाई २६ औं संस्करणसम्म निरन्तरता दिएको आयोजक आदर्श क्लबले जनाएको छ।
प्रतियोगिताका मुख्य प्रायोजक फस्ट च्वाइस फुड्स लिमिटेड, रुपन्देहीका प्रमुख कृष्णप्रसाद पौडेलले उद्घाटन गरेका हुन्।
पौडेलले कार्यक्रममा बोल्दै खेलकुदले भाइचारा सम्बन्ध बिस्तार गर्दै अनुशासनका कुरा सिकाउने औंल्याए।
उनले आफ्नो उत्पादनले युवाले स्वदेशमा नै केही गर्न सक्छन् भन्ने सन्देश दिएको पनि दाबी गरे।
उद्घाटनमा गत वर्षको विजेता कास्की–११ बाहिरिन पुग्यो।
नेपाल प्रहरी गण्डकी प्रदेशले ट्राइब्रेकरमा पराजित गर्न सफल भएको हो।
खेलको ४४ औं मिनेटमा कास्की–११ का मनिस थापामगरले पहिलो गोल गरेपनि टिमलाई अग्रताबाट जोगाउन सकेत।
४६ औं मिनेटमा नेपाल प्रहरीको तर्फबाट सुशील लामाले बरारबरी गोल गरे।
निर्धारित समयसम्म १–१ को बराबरीपछि थपिएको समयमा पनि दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल ट्राइबे्रकरमा धकेलिएको थियो।
जीतसँगै नेपाल प्रहरी सेमिफाइनल प्रवेश गरिसकेको छ।
प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की र तनहुँ जिल्ला फुटबल संघ, विभागीय नेपाल प्रहरी (गण्डकी प्रदेश), सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी, म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब पर्वत तथा होराइजन क्लब वालिङ–स्याङ्जाले भाग लिएका हुन्।
उपाधि विजेताले ४ लाख ९९ हजार ९९९ र उपविजेताले ३ लाख ३३ हजार ३३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार जित्नेछन्।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगदसहित ट्रफी पुरस्कार पाउनेछ।
अन्य विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५/१५ हजार नगदसहितको पुरस्कार पाउनेछन्।
प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ बन्न सफल खेलाडीले ५ हजार नगदसहित ट्रफी पुरस्कार पाउने क्लब सचिव सन्तोष गुरुङले बताए।
आदर्श युवा क्लब अध्यक्ष पदम अध्यक्ष गुरुङले प्रतियोगिताले गण्डकी प्रदेशको फुटबल विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
निरन्तर आयोजना हुँदै आएको आदर्श कपले स्थानीयदेखि राष्ट्रियस्तरसम्मका खेलाडीलाई अवसर प्रदान गर्दै आएको र प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीको खेलस्तर तथा मनोबल वृद्धि गर्नु, शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउनु, लोकप्रिय खेल फुटबलको प्रवर्द्धन तथा विकास गर्नु रहेको बताए।