
छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा महिलातर्फ विभागीय नेपाल पुलिस क्लब र एपीएफ क्लबले जीत निकालेको छ।
नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब र एपीएफले थाइल्यान्ड क्विन्समाथि जीत निकाल्यो।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत शनिबारको भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले जीत निकाल्यो।
जीतसँगै पुलिसले विजयी सुरुआतसमेत गर्यो।
विभागीय डर्बीमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्यो।
पुलिसले पहिलो जित निकाल्दा आर्मीले लगातार दोस्रो हार बेहोर्यो।
पहिलो सेट २५–१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोर्नुपर्यो।
पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्यो।
पुलिसकी एलिसा मानन्धर ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
च्याम्पियनसीपअन्तर्गत शनिबार नै भएको महिलातर्फको दोस्रो खेलमा थाइल्यान्ड क्वीन्समाथि विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) ले रोमाञ्चक जित निकाल्यो।
एपीएफको थाइल्यान्ड क्वीन्समाथि ३–२ को रोमाञ्चक जीत थियो।
पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो र चौथो सेट थाइल्यान्डलाई सुम्पियो।
थाइल्यान्डले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ को रोमाञ्चक जीत निकाल्दा खेल पाँचौं सेटमा धकेलियो।
पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिएको एपीएफले १५–१३ को रोमाञ्चक जीत निकाल्दै खेललाई आफ्नो पक्षमा पार्यो।
पाँचौं सेटमा खेलमा फर्किने प्रयास गरेपनि थाइल्यान्ड सफल हुन सकेन।
पुरुषतर्फको खेलमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एशोसिएनमाथि ३–० को सोझो सेटमा शानदार जीत दर्ता गर्यो।
गण्डकीले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो।
गण्डकीले पहिलो जीत निकाल्दा माल्दिभ्सले दोस्रो हार बेहोर्न पुग्यो।
च्याम्पियनसीपको पुरुषतर्फ भएको अर्को खेलमा पर्वत भलिबल संघले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकाल्यो।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत शनिबारको अन्तिम खेलमा ३ पाकिस्तानी खेलाडीसहितको पर्वत भलिबलले पुलिसलाई ३–२ को सेटमा स्तब्ध बनायो।
पहिलो सेट २५–२२ र दोस्रो सेट ३१–२९ ले आफ्नो पक्षमा पारेको पर्वतले त्यसपछिको २ सेट लगातार गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो।
पुलिसले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले पुनरागमन जित निकाल्दा खेल निर्णायक सेटमा पुगेको थियो।
निर्णायक सेटमा १५–१३ ले आफ्नो पक्षमा पर्दै पर्वतले ३–२ को रोमाञ्चक जीत निकाल्यो।
च्याम्पियनसीपअन्तर्गत भोलि (आइतबार) ४ खेल हुनेछन्।
पहिलो खेल महिलातर्फ विभागीय एपीएफ र न्यू डायमण्डबीच हुनेछ।
उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ।
त्यसपछि, महिलातर्फ नै विभागीय पुलिस र थाइल्यान्ड क्वीन्स भिड्नेछन्।
पुरुषतर्फका २ खेल हुनेछन्।
पुरुषतर्फको पहिलो खेलमा विभागीय एपीएफ र पर्वत भलिबल संघ भिड्नेछन्।
दोस्रो खेलमा विभागीय पुलिस र आर्मी खेल्ने तालिका छ।
माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले प्रतिस्पर्धा गरेका छन्।
सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष २ मा रहने टोली उपाधिका लागि फाइनल भिड्नेछन्।