
छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा महिलातर्फ न्यु डायमण्ड र थाइल्याण्ड क्वीन्सको जीत निकालेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी खेलमा विभागीय टोली एपीएफमाथि न्यु डायमण्डले जीत निकालेको हो।
त्यस्तै, महिलातर्फकै अर्को खेलमा विभागीय नेपाल पुलिसमाथि थाइल्याण्ड क्वीन्सले जीत निकालेको हो।
न्यु डायमण्ड स्पोट्र्स क्लबले विभागीय एपीएफमाथि सहज जीत निकाल्यो।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आइतबारको पहिलो खेलमा महिलातर्फ न्यु डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटको जित दर्ता गर्यो।
न्यु डायमण्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्यो।
न्यु डायमण्डकी सुमित्रा रेग्मी सो खेलको ‘प्लेयर अफ द म्याच’ बनिन्।
न्यु डायमण्डको यो लगातार दोस्रो जीत हो।
यसअघि, भएको पहिलो खेलमा न्यु डायमण्डले विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो।
एपीएफले भने यो पहिलो हार आत्मसाथ गर्नुपर्यो।
यसअघि, एपीएफले थाइल्याण्ड क्वीन्सलाई पाँचौं सेटमा पराजित गरेको थियो।
च्याम्पियनसीपअन्तर्गत महिलातर्फको अर्को खेलमा थाइल्याण्ड क्वीन्सले पुनरागमन जीत निकाल्यो।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत आइतबारको दोस्रो खेलमा थाइल्याण्ड क्वीन्सले विभागीय नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित गर्यो।
पहिलो २ सेट गुमाएको थाइल्याण्डले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै जीत दर्ता गर्न सफल बन्यो।
पुलिसले थाइल्याण्ड क्वीन्समाथि पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जीत निकालेको थियो।
तर, त्यसपछिका सेटमा पुलिस सम्हालिन सकेन।
थाइल्याण्डले तेस्रो सेट २५–२३, चौथो सेट २५–१४ र पाँचौं सेट १६–१४ ले जीत निकाल्यो।
पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पाँचौं सेटमा पराजित भएको थाइल्याण्डले दोस्रो खेलमा पाँचौं सेटमा पुगेर जीत निकालेको हो।
आज पराजित भएको विभागीय पुलिसले पहिलो खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसीपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले प्रतिस्पर्धा गर्दैछन्।
सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष २ मा रहने टोली उपाधिका लागि भिड्नेछन्।