टाइगर कप: पुरुषतर्फ पर्वत भलिबल संघ र विभागीय पुलिसको जीत

विभागीय एपीएफ, पर्वत भलिबल संघसँग पराजित, विभागीय डर्बीमा आर्मी पुलिससँग स्तब्ध

जनसम्मत
माघ ११, २०८२, आइतबार

छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा पर्वत जिल्ला भलिबल संघ र विभागीय नेपाल पुलिस क्लबले जीत निकालेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत पुरुषतर्फ आइतबार भएको पहिलो खेलमा पर्वतले विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) माथि जीत निकालेको हो।

त्यस्तै, आइतबार नै भएको पुरुषतर्फकै अर्को विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि सहज जीत निकाल्यो।

 

पर्वतको लगातार दोस्रो जीत

 

जारी च्याम्पियनसीपमा पर्वत भलिबल संघले लगातार दोस्रो जित दर्ता गरेको छ।

पर्वतले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पियो।

त्यसपछिका २ सेटमा पुनरागमन जीत निकाल्दै पर्वतले आफ्नो दोस्रो खेललाई आफ्नो पक्षमा सुनिश्चित गर्‍यो।

पर्वतले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले जीत निकाल्यो।

यसअघि, पर्वतले आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित गरेका थियो।

एपीएफले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको थियो।

 

विभागीय डर्बीमा आर्मी स्तब्ध

 

च्याम्पियनसीपअन्तर्गत आइतबार नै भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्‍यो।

पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५–२१ ले जीत निकाल्दै खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन।

चौथो सेटमा पुलिसले आर्मीलाई २५–१५ ले स्तब्ध पार्दै जीत निकाल्यो।

च्याम्पियनसीपअन्तर्गत चौथो दिन भोलि (सोमबार) ३ खेल हुनेछन्।

पहिलो खेल महिलातर्फ बिहान १० बजे विभागीय डर्बी एपीएफ र आर्मीबीच हुनेछ।

त्यसपछि, पुरुषतर्फ विभागीय एपीएफ र माल्दिभ्स भलिबल एशोसिएन भिड्नेछन्।

भोलिको अन्तिम खेल गण्डकी प्रदेश र विभागीय आर्मीबीच हुनेछ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसीपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष २ मा रहने टोली उपाधिका लागि भिड्नेछन्।