महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल बाहिरियो

स्कटल्यान्डसँग नेपाल ७२ रनले पराजित

जनसम्मत
माघ १२, २०८२, सोमबार

आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।

आज (सोमबार) भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भएको हो।

स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ५ बलमा ६८ रनमा अलआउट भयो।

नेपालकी विन्दु रावल र रोमा थापाले अविजित १४ रन बनाए।

स्कटल्यान्डकी अबतहा मकसूदले ३ विकेट लिइन्।

त्यसअघि, कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले १ सय ४० रन बनाउँदै अलआउट बन्यो।

स्कटल्यान्डकी प्रियनाज चटर्जीले अविजित ४५ रन बनाइन्।

नेपालकी मनिषा उमाध्यायले ४ र रुविना क्षेत्रीले ३ विकेट लिइन्।

योसँगै नेपालको सुपर सिक्समा पुग्ने संभावना सकिएको छ।

स्कटल्यान्डले भने सुपर सिक्समा स्थान बनाएको छ।

यसैबीच, आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स पुग्ने ६ वटै टोलीको टुंगो लागेको छ।

सोमबारको नतिजासँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन्।

समूह ‘ए’ मा पपुवा न्युगिनीलाई ५ विकेटले हराएपछि अमेरिका पनि सुपर सिक्समा पुगेको छ।

समूह ‘ए’ बाट बंगलादेशसँगै आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेको हो।

‘सुपर–सिक्स’ बाट शीर्ष ४ टोली यही जुनमा इंग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन्।