
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा गण्डकी प्रदेशले विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जीत निकालेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत सोमबारको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले विभागीय आर्मीमाथि ३–१ को रोमाञ्चक जीत निकालेको हो।
निकै प्रतिस्पर्धात्मक पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा विभागीय आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो।
चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पार्यो।
च्याम्पियनसीपमा गण्डकीले दोस्रो जीत दर्ता गराएको छ।
पहिलो खेलमा विभागीय सशस्त्र प्रहरी बल एपीएफसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एशोसियसनलाई पराजित गरेको थियो।
विभागीय आर्मीले भने लगातार दोस्रो हार ब्यहोरेको छ।
पहिलो खेलमा माल्दिभ्सलाई हराएको विभागीय आर्मी दोस्रो खेलमा विभागीय नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।
यसअघि, सोमबार नै भएको पुरुषतर्फ विभागीय एपीएफले जीत निकाल्यो।
पुरुषतर्फ विभागीय एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो।
च्याम्पियनसीपअन्तर्गत भोलि (मंगलबार) ४ खेल हुनेछन्।
पहिलो खेल महिलातर्फ विभागीय आर्मी र थाइल्याण्ड क्वीन्सबीच बिहान साढे ८ बजेबाट सुरु हुनेछ।
दोस्रो खेल महिलातर्फ नै न्यु डायमण्ड स्पोर्टस क्लब र विभागीय पुलिसबीच हुनेछ।
त्यसपछि पुरुषतर्फका २ खेल हुनेछ।
पुरुषतर्फको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स भिड्नेछन्।
पुरुषतर्फको दोस्रो खेल गण्डकी र विभागीय पुलिसबीच हुने तालिका छ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसीपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको प्रतिस्पर्धा छ।
सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष २ मा रहने टोली उपाधिका लागि भिड्नेछन्।