जेन्जी आन्दोलनबाट संचार क्षेत्रमा ७८ करोड बढिको क्षति

भदौ २३ को जेन्जी आन्दोलन, २४ को विध्वंशबाट उत्पन्न आगजनी र तोडफोडले संचार क्षेत्रमा गहिरो चोट पुर्‍यायो, राहत प्याकेज दिन सरकारलाई पत्रकार महासंघको आग्रह

जनसम्मत
पौष २, २०८२, बुधबार

भदौ २३ को जेन्जी आन्दोलन, २४ को विध्वंशले संचार क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण नेपाल सरकारलाई बुझाइएको छ।

मुलुकभरका संचार माध्यमहरूमा सो आन्दोलनका क्रममा भएको व्यापक क्षतिको विस्तृत विवरण नेपाल पत्रकार महासंघको तर्फबाट बुधबार सरकारलाई बुझाइएको हो।

महासंघद्वारा संकलन गरिएको विवरणअनुसार उक्त आन्दोलन र त्यसपछिका घटनाक्रममा देशभरका १९ वटा संचार संस्थाले करिब ५९ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको छ।

यो क्षतिले नेपालको संचार क्षेत्रलाई गहिरो चोट पुर्‍याएको छ।

त्यसैगरी, महासंघका संरचनामार्फत संकलित र क्षति पुगेका संचारसंस्थाहरुले नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको तथ्यांक अनुसार मिडिया उद्यमी, संचारकर्मी तथा संचारसँग सम्बन्धित कर्मचारी गरी ३८ जनाको व्यक्तिगत सम्पत्ति तथा निजी सवारी साधन आगजनीका कारण पूर्ण रूपमा नष्ट भएको छ।

यसबाट मात्रै १७ करोड ८४ लाख रुपैयाँ बराबरको व्यक्तिगत क्षति भएको देखिन्छ।

घटनाक्रमको प्रत्यक्ष रिपोर्टिङमा खटिएका ५ जना पत्रकार गोलीको छर्रा लागेर घाइते भएका छन्।

तीमध्ये केही पत्रकारले उपचार र असुरक्षित अवस्थाका कारण आफ्नो रोजगारीसमेत गुमाउनुपरेको अवस्था छ।

जुन, अत्यन्तै दु:खद र गंभीर विषय हो।

नेपालको संचार जगतले यस घटनाबाट भोग्नुपरेको क्षति केवल आर्थिक हिसाबले मात्र मापन गर्न संभव छैन।

कान्तिपुर दैनिक र टेलिभिजनले अर्बौं मूल्य तिरेरपनि पुन: प्राप्त गर्न नसकिने महत्वपूर्ण अभिलेख, सामग्री र ऐतिहासिक दस्तावेजहरू सधैंका लागि गुमाएका छन्।

जसले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमा गंभीर असर पारेको छ।

महासंघले हालसम्म संकलन गरेको विवरणअनुसार संचार संस्थाहरू र संचारकर्मीका निजी सम्पत्तिसमेत गरी मुलुकको संचार क्षेत्रले कुल ७७ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको छ।

यस परिस्थितिमा, क्षतिग्रस्त संचारकर्मीका निजी सवारी साधन पुन: खरिदका लागि राहत उपलब्ध गराउन, सरकारले आवश्यक सहजीकरण गर्दै क्षतिपूर्ति प्रदान गर्न, साथै क्षति पुगेका संचार माध्यम तथा निजी सम्पत्ति ध्वस्त भएका पत्रकार तथा संचारसम्बद्ध व्यक्तिहरूका लागि विशेष राहत प्याकेज ल्याउन नेपाल पत्रकार महासंघ नेपाल सरकारसँग जोडदार माग गर्दछ।

घाईते पत्रकारका लागि बिशेष राहत ल्याउन महासंघले माग गरेको छ।

यससम्बन्धी क्षतिको विस्तृत विवरणसूची संलग्न गरी बुधबार नै सरकारका प्रवक्ता संचार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेल र मन्त्रालयका सचिव राधिका अर्यालसमक्ष बुझाएको छ।

महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले क्षति पुगेका संचारसंस्था र पत्रकारहरुलाई बिशेष राहत प्याकेज घोषणा गर्न माग गरेको थियो।

मन्त्री खरेलले सरकारले क्षति पुगेका संचार संस्थाहरु र निजी सवारी जलेका पत्रकारहरुलाई राहत दिनेबारे सरकार सकरात्मक रहेको प्रतिवद्वता जनाए।

महासंघ प्रतिनिधिमण्डलसँगको भेटमा सचिव अर्यालले संचार क्षेत्रमा परेको समस्यामा सरकार र मन्त्रालय गंभीर रहेको बताइन्।