
न्यु डायमण्ड स्पोर्टस क्लबले छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा महिलातर्फ फाइनलमा स्थान बनाएको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसीपअन्तर्गत मंगलबारको दोस्रो खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
न्यु डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२० ले जीत निकाल्यो।
न्यु डायमण्ड ३ खेलबाट ९ अंकसहित फाइनलमा पुगेको हो।
अब, एपीएफ, थाइल्याण्ड क्वीन्स र पुलिसमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन्।
पहिलो खेलमा आर्मीलाई हराएको पुलिसले लगातार दोस्रो हार ब्यहोरेको छ।
यसअघि, मंगलबार नै भएको पहिलो खेलमा थाइल्याण्ड क्वीन्सले विभागीय आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
थाइल्याण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१६ ले सहज जीत निकाल्यो।
पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पाँचौं सेटमा पराजित भएको थाइल्याण्डले दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो।
विभागीय आर्मी भने जीतविहिन रहँदै च्याम्पियनसीप सकाएको छ।
आर्मी ४ वटै खेलमा पराजित बन्यो।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसीपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्।
सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष २ मा रहने टोली उपाधिका लागि भिड्नेछन्।
महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ।