पोखरामा सकियो राष्ट्रिय युवा नीतिको प्रादेशिक कार्यशाला

प्रदेश युवा परिषद् बनाउन सरोकारवालाहरुको जोड

जनसम्मत
माघ १३, २०८२, मंगलवार

राष्ट्रिय युवा नीति–२०८२ र आगामी युथ भिजनका लागि पोखरामा सोमबार प्रादेशिक कार्यशाला सम्पन्न भएको छ।

जागृति बाल तथा युवा सरोकार नेपालले ब्रिटिस काउन्सिलको सहयोग र राष्ट्रिय युवा परिषद्को सहकार्यमा सम्पन्न कार्यशालाका सहभागीहरुले युवा सहभागिता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, युवामैत्री शासन अभिवृद्धिका लागि नेपालका अन्य प्रदेशहरुमा जस्तै गण्डकी प्रदेशमासमेत प्रदेश युवा परिषद् बनाउन युवा सरोकारवालाहरुले जोड दिएका छन्।

कार्यक्रममा बोल्दै मानव अधिकार आयोग, गण्डकी प्रदेश प्रमुख नीतु गर्ताैलाले युवाहरुमा नैतिकता र सकृयताको खाँचो औल्याइन्।

त्यसैगरी, गण्डकी प्रदेश, सामाजिक तथा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव घनश्याम पौडेलले गण्डकी प्रदेश युवा परिषद् गठनको प्रस्ताव मन्त्रीपरिषद्मा गइसकेको र छिट्टै गठन गर्ने प्रतिवद्धता जनाए।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, गण्डकी प्रदेश कार्यालयकी उपनिर्देशक डा. मीना भट्टले कार्यक्रममा बोल्दै युवाहरुलाई सीप र उद्यमशीलतासँग जोड्न सके मात्र समृद्धिको यात्रा सुरु गर्न सकिने धारणा राखिन्।

त्यस्तै, श्रम तथा रोजगार कार्यालय, पोखराका प्रमुख चण्डीका पौडेलले श्रम सचेतना र सामाजिक सुरक्षा कोषको महत्वमाथि प्रकश पारे।

आँधीखोला गाउँपालिका–१ का वडाध्यक्ष पवनकाजी अधिकारीले युवाहरुलाई उद्यमी बनाउने अभियानका लागि सबै तहका सरकारहरुको एकीकृत समन्वयको आवश्यकता औंल्याए।

कार्यक्रमको छलफल सत्रको सहजीकरण त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिपेश घिमिरेले गरेका थिए। घिमिरेले राष्ट्रिय युवा नीति–२०८२ को परिचय, युथ भिजन–२०२५ को समीक्षा तथा आगमाी युथ भिजनको सन्दर्भमा सहभागीहरुको सुझाव संकलनसमेत गरेका छन्।

कार्यक्रममा युवा जनप्रतिनिधीहरु, विद्यार्थी, व्यवसायी, संचारकर्मी, अल्पसंख्यक समुदाय, पर्यटन व्यवसायी, फरक क्षमता, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, किशोरकिशोरीलगायतको समुदायको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशको विभिन्न जिल्लाका विभिन्न ७ जिल्लाका ७० युवाहरुको सहभागिता थियो।

कार्यक्रमका सहभागीहरुले युवामैत्री शासन प्रवर्द्धन, जलवायुमैत्री शासन, बालविवाह अन्त्य, उद्यमशीलता विकास, सामाजिक कुरीति तथा कुसंस्कारविरुद्ध अभियान, विपद् व्यवस्थापनलगायतका विषयमा युवाहरुको सकृयता र सहभागिताबारे सुझाव दिएका थिए।

राष्ट्रिय युवा परिषद्को उपसचिव चन्द्राकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम अधिकृत रिता थापाले स्वागत र जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले संचालन गरेका थिए।