पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार

पुरस्कार राशि २५ हजार १११ सहित सम्मानपत्र छ

जनसम्मत
माघ १४, २०८२, बुधबार

पोखराका कृयाशील पत्रकारहरु धन बस्नेत र सागरराज तिमिल्सिना टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन्।

पत्रकार महासंघ कास्कीले पत्रकार बस्नेत र तिमिल्सिनालाई बुधबार पोखरामा एक कार्यक्रमबीच सो पुरस्कारबाट सम्मान गरेको हो।

पत्रकार महासंघ कास्कीद्वारा संचालित टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार वर्ष–२०८१ का लागि बस्नेत र वर्ष–२०८२ का लागि तिमिल्सिना सम्मानीत भएका हुन्।

गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारी, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष माधव शर्मासमेतले उनीहरुलाई जनही २५ हजार १११ सहित सम्मानपत्र प्रदान गरे।

पुरस्कारका लागि पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की संयोजक रहेको प्रतिभा छनोट समिति गठन गरिएको थियो।

पुराना पत्रकार बस्नेत खेलाडीन्यूज डटकम र टक्सार म्यागेजिनमा आवद्ध छन्।

२०६० सालमा नेपाल समाचारपत्रबाट पत्रकारिता सुरु गरेका उनीसँग लामो समय नागरिक दैनिकमा काम गरेको अनुभव छ।

यसअघि, उनले सहारा खेलकुद पत्रकारिता पुरस्कार र जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकार पुरस्कार प्राप्त गरिसकेका छन्।

यसैगरी, तिमिल्सिना एपीवान टिभी र क्लिक गण्डकीमा आवद्ध छन्।

२०५९ सालदेखि समाधान दैनिकबाट पत्रकारिता सुरु गरेका उनले पोखरा एफएम, रेडियो तरङ्ग, उज्यालो रेडियो नेटवर्क, विग एफएम, एभिन्यूज, सेतोपाटी, गन्थन डटकममा काम गरिसकेका छन्।

यसअघि उनी सहारा खेलकुद पत्रकारिता पुरस्कार, जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा उत्कृष्ट खेल पत्रकार पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड, रेवान पोखराको पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका छन्।