टाइगर कप: पुरुषतर्फ पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जीत

पुरुषतर्फकै विभागीय डर्बीमा एपीएफविरुद्ध पुलिसको सहज जीत

जनसम्मत
माघ १४, २०८२, बुधबार

छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसीपमा पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसीपअन्तर्गत बुधबारको चौथो तथा अन्तिम खेलमा विभागीय आर्मीले ३ पाकिस्तानी खेलाडीसहितको पर्वतलाई ३–२ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट १५–२५ ले गुमायो।

तेस्रो सेटमा २५–२२ ले जीत निकालेको आर्मीले चौथो सेटमा पुन: १३–२५ ले पर्वतलाई सुम्पिदा खेल पाँचौं सेटमा धकेलियो।

निकै प्रतिस्पर्धात्मक भएको पाँचौं सेटमा आर्मीले २०–१८ जीत निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो।

जीतसँगै आर्मीले ४ खेलबाट ५ अंक जोडेको छ।

पराजित भएको पर्वतले ४ खेलबाट ९ अंक बनाएको छ।

समान ४ खेल खेलेको गण्डकीको ९ अंक छ।

४ खेल खेलेको पुलिसको ७, एपीएफको ६ अंक हुँदा माल्दिभ्स अंकविहिन छ।

 

पुलिसको सहज जीत

 

यसअघि, च्याम्पियनसिपमा पुरुषतर्फ नै विभागीय डर्बीमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफविरुद्ध सहज जीत निकाल्यो।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसीपअन्तर्गत बुधबारको तेस्रो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–१५ ले जित निकाल्यो।

अब, आजको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन्।

महिलातर्फको उपाधिका लागि न्यु डायमण्ड र पुलिसले प्रतिस्पर्धा गर्नेछन्।

तेस्रो स्थानका थाइल्याण्ड क्वीन्स र एपीएफ भिड्नेछन्।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसीपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्।

शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्।