आइसीसी विश्वकप क्रिकेटमा घरेलु इङल्याण्ड फाइनलमा

साविक विजेता अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो

एजेन्सी
असार २८, २०७६, शनिबार

घरेलु टोली इङ्ल्यान्ड एकदिवसीय विश्वकप २०१९ को फाइनलमा प्रवेश पुगेको छ ।

दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
अब इङ्ल्यान्डले उपाधिको लागि आइतबार लर्ड्समा न्युजिल्यान्डसँग खेल्नेछ । न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा भारतलाई स्तब्ध पार्दै फाइनलमा स्थान बनाइसकेको छ ।

अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय २४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३३ औं ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो । इङ्ल्यान्डको लागि ओपनर जोसन रोयले सर्वाधिक ८५ रनको योगदान दिए । प्याट कमिन्सले २० ओभरको चौथो बलमा कट बिहाइन्ड निकाल्दै विकेटकीपर एलेक्स केरीबाट क्याच आउट गराए । त्यसअघि रोयले ६५ बलमा ९ चौका र ५ छक्का प्रहार गरे ।

रोयले पहिलो विकेटका लागि जोनी बेयरस्टोसँग १७.२ ओभरमा १ सय २४ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । मिचेल स्टार्कले एलबीडब्लू आउट गर्नुअघि बेयरस्टोले ४३ बलमा ५ चौका सहित ३४ रन जोडे ।

जो रुट ४६ बलमा ८ चौकासहित ४९ रनमा अविजित रहे । त्यस्तै, कप्तान इओन मोर्गन पनि ३८ बलमा ८ चौकासहित ४५ रनमा नट आउट रहँदै फाइनलमा स्थान पक्का गरे । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलिया ४९ ओभरमा अल आउट हुँदै २ सय २३ रनमा समेटियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रनको योगदान दिए । ४८ ओभरको पहिलो बलमा रन आउट हुनुअघि स्मिथले १ सय १९ बलमा ६ चौका प्रहार गरे ।

अष्ट्रेलियाले दोस्रो ओभरको पहिलो बलमा ओपनर तथा कप्तान आरोन फिन्चलाई शुन्यमा गुमाएको थियो । उनलाई जोफ्रा आर्चरले एलबी डब्लू आउट गरे । तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर डेविड वार्नर ९ रनमा क्याच आउट भए । उनलाई क्रिस वोक्सले जोनी बेयरस्टोबाट क्याच आउट गराउँदै सुरुवाती समय दबाबमा राखे । वोक्सले सातौं ओभरको पहिलो बलमा पिटर हेन्डस्कम्बलाई ४ रनमा बोल्ड आउट गरेपछि अष्ट्रेलिया १४–३ को कमजोर अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि एलेक्स केरी र स्टिभ स्मिथले १ सय ३ रनको शतकीय साझेदारी गर्दै सुरुवाती दबाब कम गर्दै इनिङ्सलाई उकासे । चोटका बोकेर खेलेका केरी आदिल राशिदको २८ ओभरको दोस्रो बलमा ठूलो सर्ट खेल्ने धुनमा बाउन्डी लाइन नजिकै सब फिल्डर जेम्स भिन्सबाट क्याच हुँदै ४६ रनमा पेभिलिएन फर्किए । स्मिथलाई राम्रो साथ दिएका उनले ७० बलमा ४ चौका प्रहार गरे ।

यसै ओभरको अन्तिम बलमा मार्कस स्टोइनिस एलवी डब्लू आउट हुँदै शून्यमा पेभिलिएन फर्केपछि अष्ट्रेलिया पुन दबाबमा प¥यो । आर्चरको ३५ ओभरको पाँचौ बलमा ग्लेन म्याक्सवेल २३ बलमा २ चौका र १ छक्कासहित २२ रनमा कप्तान इओन मोर्गनबाट क्याच आउट हुन पुगे । प्याट कमिन्स पनि ६ रनमा क्याच आउट भए । तल्लोक्रममा मिचेल स्टार्कले ३६ बलमा समान १ चौका र छक्का सहित २९ रनको महत्वपूर्ण योगदान दिए । नाथन लायन ५ र जेसन बेहरनडर्फले १ रन जोडे ।

इङ्ल्यान्डका लागि क्रिस वोक्सले ८ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । आदिल राशिदले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट हात पारे । जोफ्रा आर्चरले १० ओभरमा ३२ रन खर्चेर २ विकेट हात पारे । मार्क उडको नाममा १ विकेट रह्यो ।