पोखरामा हुने साफ यु-१९ महिला च्याम्पियनसीपको तयारी पूरा

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी ४ टोलीले प्रतिस्पर्धा गर्दैछ

जनसम्मत
माघ १५, २०८२, बिहीवार

यहि माघ १७ देखि २४ गतेसम्म पोखरा रंगशालामा हुने साफ यु-१९ महिला च्याम्पियनसीपको संपूर्ण तयारी पूरा भएको छ।

आयोजकले बिहिबार एक पत्रकार सम्मेलनमार्फत संपूर्ण तयारी पूरा भएको जनायो।

पोखरामा आयोजना हुन लागेको यस प्रतियोगिता सन् २०१९ मा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो।

१३ औं सागमा पहिलो पटक महिला फुटबल पोखरा रंगशालामा आयोजना भएको थियो।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा) को आयोजनामा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी ४ टोलीले प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा संचालन हुनेछ।

जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने तालिका छ।

लिग चरणपछि शीर्ष २ टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्घाटन खेल माघ १७ गते बंगलादेश र भुटानबीच दिउँसो १२ बजे हुनेछ भने सोही दिन आयोजक नेपालले भारतसँग दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछ।

लिग चरणका खेलहरू माघ १७, १९ र २१ मा संचालन हुनेछन्।

जहाँ प्रत्येक दिन २/२ खेल हुनेछन्।

प्रतियोगिताका सबै खेलहरू पोखरा रंगशालामै हुनेछन्।

यसले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको महत्वपूर्ण केन्द्रका रूपमा थप स्थापित गर्ने विश्वास गरिएको साफका महासचिब पुरुषोत्तम कट्टेलले जनाएका छन्।

घरेलु मैदानमा प्रतिस्पर्धा गर्न लागेको नेपाली यु-१९ महिला टोलीको समर्थनका लागि पोखराका साथै देशभरका फुटबलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको जिल्ला खेलकुद विकास समतिका अध्यक्ष मिलन गुरूङले बताएका छन्।

पत्रकार सम्मेलनमा एन्फाका सीइओ इन्द्रमान तुलाधरले पोखरालाई अन्तर्राष्ट्रिय फुटबलको हव बनाउने गरी एन्फा अघि बढेको उल्लेख गरे।

प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ २ सय र भीआइपीतर्फ ५ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्न करिव २ करोड ४५ लाख १५ हजार २९० रुपैयाँ खर्च लाग्ने समेत आयोजकको भनाई छ।