
प्रेस सेन्टर नेपालले पोखरामा एक कार्यक्रमबीच विहीबार आफ्नो २२ औं स्थापना दिवस मनाएको छ।
दिवसको अवसरमा पोखरा–१४, स्थित मझेरीपाटनस्थित सहिद स्मृति बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्रि सहयोग हस्तान्तरण गरेको छ।
प्रेस सेन्टर कास्की शाखाको आयोजनामा प्रेस सेन्टर गण्डकी तथा पोखरा महानगर कमिटीको समन्वयमा एक समारोहबीच उक्त सहयोग गरिएको प्रेस सेन्टरले जनाएको छ।
विद्यालयमा अध्ययनरत् सहिद तथा वेपत्ता एवं विपदमा परेका र स्थानीयका बालबालिकाहरुका लागि शैक्षिक तथा खेलकुद विकासमा सहयोग पुर्याउने उद्देश्यले बिद्यालयमा सानो सहयोग गरिएको प्रेस सेन्टर कास्कीका अध्यक्ष दिननाथ बरालले जानकारी दिएका छन्।
कार्यक्रममा संविधान सभा सदस्य एवं विद्यालय व्यवस्थापन समितिकी सदस्य तेजकुमारी पौडेलले प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा सहिद स्मृति बिद्यालयमा गरिएको सहयोग प्रशंसनीय कार्य भएको औंल्याइन्।
विद्यालयलाई सहयोग गरेकोमा प्रेस सेन्टर कास्कीलाई पौडेलले धन्यवादसमेत दिइन्।
समाजबादी प्रेस संगठनका उपाध्यक्ष श्रीराम सिग्देलले सहिद स्मृति बिद्यालयको शैक्षिक तथा खेलकुदको विकासमा यस्ता सहयोग थप टेवा पुग्ने उल्लेख गरे।
प्रेस सेन्टरका केन्द्रीय सदस्य घनश्याम पाण्डेले स्थापनाकालदेखि नै प्रेस सेन्टरले जनपक्षीय भूमिका निर्वाह गर्दै आएको बताए।
विद्यालयकी प्रधानाध्यापक कल्पना चिलुवालले विद्यालयमा हाल २ सय जना आवासीय रुपमा बिद्यार्थीहरु अध्ययनरत भएको उल्लेख गरिन्।
बिद्यालयमा जम्मा ४ सय २० जना बिद्यार्थीहरु उनले रहेको जनाइन्।
उनले जनयुद्ध तथा जनआन्दोलनका सहिद, कोभिड महामारी, भूकम्प, बाढी पहिरो जस्ता प्रकोपमा ज्यान गुमाएका तथा उत्पीडित वर्गका अभिभावक तथा स्थानीयका छोराछोरीलाई कक्षा १२ सम्म नि:शुल्क पठनपाठनको व्यवस्था गरिएको प्रधानाध्यापक चिलुवालको भनाई छ।
माघ १६ गते सहिद दिवसको अवसरमा बिद्यालयमा बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम एवं फूड फेष्टिबलको कार्यक्रम रहेको चिलुवालले जनाइन्।
कार्यक्रममा नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य राजु क्षत्री, प्रेस स्वतन्त्रता सेनानी पदम रेग्मी, प्रेस सेन्टरका केन्द्रीय सदस्य कृष्ण दवाडी, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ गण्डकीका सल्लाहकार गोविन्द सुवेदी, सेन्टरका पूर्व केन्द्रीय सदस्यहरु सन्देस श्रेष्ठ, रामप्रसाद तिमिल्सिना, फोनिज कास्कीका अध्यक्ष विनु मसराङ्गी, समाजवादी प्रेस संगठन कास्कीका सचिव भीम थापा, प्रेस सेन्टर कास्कीका कोषाध्यक्ष खगेन्द्र अर्याल, सेन्टरका नेता रवि दाहाललगायतको सहभागिता थियो।