आहा ! रारा पोखरा गोल्ड कपमा ४ विदेशीसहित १२ टिमको प्रतिस्पर्धा

माघ २७ देखि प्रतियोगिता सुरु, खेलहरु फ्ड लाइटमा खेलाइने, पुरस्कार राशिमा वृद्धि

जनसम्मत
माघ १८, २०८२, आइतबार

२५ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कपमा ४ विदेशीसहित १२ टिमबीच प्रतिस्पर्धा हुने भएको छ।

सहारा क्लव पोखराको आयोजनामा यहि माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकपको यस संस्करणमा ४ विदेशीसहित १२ टिमले प्रतिस्पर्धा गर्नेछन्।

आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर सहारा क्लबले उक्त जानकारी दिएको हो।

प्रतियोगितामा भारतका २ तथा हङकङ र उज्वेकिस्तानको १/१ गरी ४ टिमले यस संस्करणको आहा ! रारा पोखरा गोल्ड कपमा प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।

प्रतियोगितामा विभागीय क्लबहरु नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड क्लव, मनाङ मस्र्याङ्दी क्लब, प्लानिङ ब्वाइज युनाइटेड, सहारा क्लब पोखरा सहभागी हुने अध्यक्ष थापाले बताए।

त्यस्तै भारतबाट बण्डरवोल्ड युनाइटेड (सिक्किम) सहित २ टिम तथा उज्वेकिस्तानको आभा फुटबल क्लब र गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ गरी विदेशी टिमहरूले प्रतिस्पर्धा गर्ने उनले जनाए।

भारतको एक टिमको नाम फाइनल नभइसकेकाले पछि सार्वजनिक गरिने अध्यक्ष थापाले प्रष्ट पारे।

यस वर्ष फ्लड लाइटमा प्रतियोगिताका खेलहरु हुनेछन्।

भारतबाट फ्लड लाइट भाडामा ल्याएर खेलाउन लागिएको अध्यक्ष थापाले बताए।

प्रतियोगितामा यस बर्ष पुरस्कार राशीमासमेत २ लाख वृद्धि गरेर प्रतियोगिताका उपाधि बिजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगद पाउने व्यवस्था गरेको आयोजक सहारा क्लबले जनाएको छ।

गत वर्ष बिजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रसहितको पुरस्कार व्यवस्था थियो।