
आइसीसी टी–२० विश्वकपअघिको दोस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ।
भारतको चेन्नईमा रहेको एमए चिदम्बरम स्टेडियममा क्यानडाले दिएको १ सय ६२ रनको लक्ष्य नेपालले १२ बलअघि नै ४ विकेट गुमाएर भेट्टायो।
नेपालका आसिफ शेखले सर्वाधिक ५८ रन बनाए।
त्यस्तै, सन्दीप जोराले ४४ थपे।
यस्तै, गुल्सन झाले नटआउट ३१ रन बनाए।
क्यानडाका जसकरण सिंह, साद बिन जफर र अजयवीर हुण्डलले समान १/१ विकेट लिए।
यसअघि, टस जितेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनायो।
क्यानडाका नवनीत धालिवालले सर्वाधिक ४१ रन बनाए।
त्यस्तै, श्रेयस मोव्वाले नटआउट ३८ रन थपे।
नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २/२ विकेट लिए।
नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ७ विकेटले हराएको थियो।
१० औँ संस्करणको टी–२० विश्वकप पर्सि (शनिवार) फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ।
प्रतियोगितामा २० वटा देशलाई ४ वटा समूहमा विभाजन गरिएको छ।
प्रतियोगितामा नेपाल समूह ’सी’ मा छ।
यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।
नेपालले आउँदो आइतवार इंग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।