टी–२० विश्वकप: नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

समूह ‘सी’ मा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्

जनसम्मत
माघ २५, २०८२, आइतबार

आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा इंग्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए।

त्यस्तै, कप्तान रोहितकुमार पौडेल र लोकेश बमले समान ३९/३९ रन बनाए।

इंग्ल्यान्डका लायम ड्वासनले २ विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनायो।

इंग्ल्यान्डका ज्याकब बेथेलले सर्वाधिक ५५ रन बनाए।

त्यस्तै, कप्तान ह्यारी ब्रुकले ५३ रन जोडे।

नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २/२ विकेट लिए।

प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो।

यसअघि, आजै भएको पहिलो खेलमा अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्डले विजयी सुरुआत गरेको छ।

यस्तै, आजको तेस्रो खेलमा बेलुकी सवा ७ बजे श्रीलंका र आयरल्यान्ड खेल्दैछन्।

प्रतियोगितामा २० वटा टोली सहभागी छन्।

समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन्।

समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे, आयरल्यान्ड र ओमान छन्।

समूह ‘सी’ मा नेपाल, इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।

इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको हो।

समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (युएई) र क्यानडा छन्।

हरेक समूहका शीर्ष २ टोली ‘सुपर–एट’ मा पुग्नेछन्।

‘सुपर–एट’ मा ४/४ वटा टोली २ समूहमा बाँडिनेछन्।

समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।

१० औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ।