
२० औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा १० हजार बढि धावकहरु दौडदैंछन्।
म्याराथनअन्तर्गत विभिन्न विधामा १० हजार धावक दौडिने सोमबार पत्रकार सम्मेलनमार्फत आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ।
‘स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ यही फागुन २ गते २० औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुँदैछ।
मञ्च अध्यक्ष दिलबहादुर गुरुङले २ फागुनमा हुने म्याराथनमा १० हजार २०६ जना धावक दौडिने जानकारी दिए।
तीमध्ये प्रतिस्पर्धात्मक रुपमा ३ हजार ५०६ जना र ‘रन फर फन’ मा ६ हजार ७ सय जना दौडिनेछन्।
गुरुङका अनुसार खुला म्याराथन (४२.१९५ किमी) मा २१ देशका ६० भन्दा बढी विदेशी धावकसहित १५१ जनाले प्रतिस्पर्धा गर्दैछन्।
हाफ म्याराथनतर्फ ८ विदेशीसहित १८८ जनाले प्रतिस्पर्धा गर्दैछन्।
महिलातर्फ ८ विदेशीसहित १९० जनाले प्रतिस्पर्धा गर्दैछन्।
४५ वर्षमाथि उमेर समूहमा १ विदेशीसहित २५ जना दौडिनका लागि नाम दर्ता गराएको अध्यक्ष गुरुङले बताए।
यसैगरी, १० किमी पुरुषतर्फ ७ विदेशीसहित २०७ जनाले सहभागिता जनाउँदैछन्।
सोही इभेन्टमा महिलातर्फ ६ विदेशीसहित ८६ जनाले सहभागिता जनाउँदैछन्।
५ किमी भेट्रान्स पुरुषतर्फ ७५ जना दौडदैंछन्।
सोही स्पर्धामा महिलातर्फ ३० जना दौडदैंछन्।
त्यस्तै, ५ किमी छात्रमा १ हजार ६५० र छात्रातर्फ ४७५ जना दौडदैंछन्।
५ किमी कर्पोरेट महिला दौडतर्फ १६० जना र पुरुषतर्फ ७० जना दौडदैछन्।
‘रन फर फन’ तर्फ प्रतिस्पर्धात्मकबाहेक सबैजना दौडन सक्ने आयोजकले जनाएको छ।
दौड पोखरा रंगशालाबाट बिहान ७ बजे सुरु हुनेछ।
दौडमा चिप्स प्रयोग गरिएको छ।
मञ्चका अनुसार पोखरा अन्तर्राष्ट्रिय म्याराथन नेपाली म्याराथनमध्ये एकमात्र प्रविधिमैत्री म्याराथन हो।
यस संस्थाले विगत ३ वर्षदेखि चिप्सको प्रयोग गर्दै आएको छ।
चिप्सको प्रयोग गरी खेलाडीको दौडको समय सेन्सर मेसिनको माध्यमबाट निर्धारण गरिनेछ।
प्रतियोगिताको मुख्य प्रायोजक सुजल डेरीको उत्पादन सफल दूध रहेको छ।
खुला म्याराथनमा प्रथमले ४ लाख, दोस्रोले २ लाख र तेस्रोले १ लाख पाउनेछन्।
चौथोदेखि आठौं स्थानसम्म आउनेले पनि नगद पुरस्कार पाउनेछन्।
अन्य विधामा पनि नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ।
म्याराथनभन्दा एक साताअघि ह्विलचियर र दृष्टिविहीन दौड गर्दै आएको छ।
यस वर्षको कार्यक्रम २४ माघमा सम्पन्न भइसकेको छ।
मञ्च पूर्व अध्यक्ष तेजबहादुर गुरुङले सिटी म्याराथनको अवधारणाअनुरुप पोखरामा २ दशकदेखि म्याराथन हुँदैआएको प्रस्ट पारे।
उनले पर्यटकीय राजधानी पोखरालाई विश्व मानचित्रमा खेलकुदको सहरको रुपमा चिनाउने र खेलबाटै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए।
मञ्चको स्थापनाको २५ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा ‘१२ महिना १२ कार्यक्रम’ घोषणा गरी रजत महोत्सव कार्यक्रम मनाइरहेको छ।
सो अवसरमा पोखरामा ‘दौड संस्कृति’ को विकास गरी पोखरेलीको मानसिक र शारीरिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको पुसदेखि विद्यार्थीको मासिक ५ किमी दौड संचालन गरिरहेको छ।
रजत महोत्सवको समापन समारोह आगामी ८ वैशाख २०८३ मा स्मारिका प्रकाशन र नेपाली खेलकुद विकासमा योगदान पुर्याउने २ जनालाई राष्ट्रिय खेलकुद पुरस्कार घोषणा गरी १ लाख रुपैयाँसहित सम्मानपत्र र पदक वितरण गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।
पत्रकार सम्मेलनमा ७ दिन, ७ प्रदेश, ७ म्याराथनका परिकल्पनाकार एवं नेपाल रन यूकेका परिकल्पनाकार सन्तोष राईले पोखराको खेल पर्यटन प्रवर्द्धनमा पोखरा म्याराथनले महत्वपूर्ण भूमिका खेलिरहेको बताए।
आयोजकले यस वर्ष २१ स्पर्धामा ७६ जना विजेता प्रतियोगीलाई नगद १९ लाख ८९ हजार वितरण गर्ने बताएको छ।