टी–२० विश्वकप: नेपाल इटालीसँग १० विकेटले पराजित

नेपालको लगातार दोस्रो हार, टी–२० विश्वकपमा यो नेपालको अहिलेसम्मकै ठूलो हार

जनसम्मत
माघ २९, २०८२, बिहीवार

१० औँ संस्करणको आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ।

टी–२० विश्वकपमा यो नेपालको अहिलेसम्मकै ठूलो हार हो।

भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ ओभर ४ बलमा १ विकेट पनि नगुमाई भेट्टायो।

इटालीका एन्थोनी मोस्काले सर्वाधिक ६२ रन बनाए।

जस्टिन मोस्काले ६० रन थपे।

एन्थोनी र जस्टिन दाजुभाई हुन्।

यसअघि, टस हारेर ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १२३ रन बनायो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए।

कप्तान रोहित पौडेलले २३ रन मात्र जोडे।

त्यस्तै, आसिफ शेखले २० रन थपे।

करण केसीले नटआउट १८ रनमात्रै बनाए।

इटालीका क्रिशन कालुगामेजले ३ विकेट लिए।

आज (विहीबार) को खेलमा नेपालका ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गरेका छन्।

उनी शेर मल्लको ठाउँमा टोलीमा परेका हुन्।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो।

पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो।

यस्तै पहिलो पटक विश्वकप खेलेको इटालीको यो पहिलो जीत हो।

पहिलो खेलमा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो।

यो जीतसँगै इटाली समूह ‘सी’ मा तेस्रो स्थानमा उक्लिएको छ।

नेपाल भने पुछारमा झरेको छ।

योसँगै नेपाल समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेको छ।

अब, नेपालले तेस्रो खेलमा वेस्ट इन्डिज र अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्न बाँकी छ।

टी–२० विश्वकपमा आज (विहीबार) भएको पहिलो खेलमा ओमानलाई १०५ रनले हराउँदै श्रीलंकाले लगातार दोस्रो जीत हासिल गरेको छ।

आज नै तेस्रो खेलमा बेलुकी सवा ७ बजे भारत र नामिबिया खेल्दैछन्।

प्रतियोगितामा २० वटा टोली ४ वटा समूहमा विभाजन गरिएको छ।

हरेक समूहका शीर्ष २ टोली ‘सुपर–८’ मा पुग्नेछन्।

‘सुपर–८’ मा ४/४ वटा टोली २ समूहमा बाँडिनेछन्।

समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।

१० औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ।