
एसीसी महिला एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाली टोली पहिलो खेलमा पराजित भएको छ।
थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा आज (शुक्रबार) भएको उद्घाटन खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको हो।
पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो।
नेपालकी विन्दु रावलले ४५ बलमा सर्वाधिक ३९ रन बनाइन्।
पाकिस्तानकी अनुशा नासिरले ३ विकेट लिइन्।
यसअघि, टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो।
पाकिस्तानकी कप्तान हफ्सा खालिदले सर्वाधिक नटआउट ४० रन बनाइन्।
नेपालकी कविता कुँवरले २ विकेट लिइन्।
नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि आइतवार युएईसँग र अन्तिम खेलमा भारत ‘ए’ सँग खेल्नेछ।
थाइल्यान्डमा आज (शुक्रबार) देखि सुरू भएको प्रतियोगितामा ८ वटा टोलीलाई २ समूहमा विभाजन गरिएको छ।
समूह चरणका खेलपछि शीर्ष स्थानमा रहने २ टोली सेमिफाइनलमा पुग्नेछन्।
फाइनल खेल यही फेब्रुअरी २२ मा हुनेछ।