
एसीसी एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आज (आइतबार) भएको खेलमा भयो।
युएईले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो।
नेपालका सम्झना खड्काले सर्वाधिक ५८ रन बनाइन्।
कप्तान पूजा महतोले ५३ रन जोडिन्।
युएईका सुरक्षा कोटी र हीना होटचन्दानीले समान २/२ विकेट लिए।
यसअघि, टस हारेर ब्याटिङ गरेको युएईले २० ओभरमा ४ विकेट गुमाएर १८९ रन बनायो।
युएईकी कप्तान ईशा ओजाले सर्वाधिक १२५ रन बनाइन्।
नेपालकी मनिषा उपाध्यायले २ विकेट लिइन्।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ३० रनले पराजित भएको थियो।
युएईको भने यो लगातार दोस्रो जीत हो।
युएई ४ अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ।
अब, नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि भारतसँग खेल्नेछ।
प्रतियोगितामा ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ।
समूह चरणका खेलपछि शीर्ष स्थानमा रहने २ टोली सेमिफाइनलमा पुग्नेछन्।
फाइनल खेल यही फेब्रुअरी २२ मा हुनेछ।