आयोजक सहारा क्लब आहा ! रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा

उद्घाटन खेलको अन्तिम एक मिनेट सम्हालिन नसक्दा पाहूना टोली हङकङको गोर्खा इन्टरनेशनल क्लव प्रतियोगिताबाट बाहिरियो

जनसम्मत
माघ २७, २०८२, मंगलवार

आयोजक सहारा क्लब, पोखराले आहा ! रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालाको फुटबल मैदानमा आज (मंगलबार) साँझ भएको उद्घाटन खेलमा आयोजक सहाराले पाहूना टोली हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई १—० को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

अन्तिम एक मिनेट सम्हालिन नसक्दा आहा ! रारा पोखरा गोल्डकपमा पहिलो पटक सहभागि भएको पाहुना टोली हङकङको गोर्खा इन्टरनेशनल क्लव आफ्नो पहिलो खेलमै आयोजक सहारा क्लबसँग स्तब्ध बन्यो।

खेलको इन्जुरी समयमा सहाराका प्रशन्न श्रेष्ठले गोल गर्दै पोखरेली दर्शकलाई खुशी दिए।

९० मिनेटको खेलमा थपिएको ४ मिनेटको इन्जुरी समयको तेश्रो मिनेटमा श्रेष्ठले करिब २० यार्ड टाडाबाट प्रहार गरेको वलले जाली चुमेको थियो।

गोर्खा इन्टरनेशनल फुटबल क्लव प्रतियोगिताको पहिलो खेलबाटै बाहिरियो।

भोलि (बुधबार) जाउलाखेल युथ क्लवबिरुद्ध मछिन्द्र फुटवल क्लवले खेल्नेछ।

पोखराका मेयर धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता अस्थायी फ्लड लाइटमा संचालन भएको हो।

फागुन ९ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा ३ विदेशीसहित १२ टिमको सहभागिता छ।

प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

साथै अनुशासित टिम, उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ का खेलाडीले पुरस्कार जित्नेछ।

भाग्यशाली दर्शकले समेत आकर्षक पुरस्कार जित्ने छ।

यस वर्षको सर्वोत्कृष्ट खेलाडीले टेल्जी इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्।