जावलाखेल युथ क्लब आहा ! रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा

भोली (विहिबार) दिउँसो ४ बजे विभागीय एपीएफबिरुद्ध मनाङ मर्स्याङ्दी भिड्दै

जनसम्मत
माघ २८, २०८२, बुधबार

जावलाखेल युथ क्लबले पोखरामा जारी २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामा आज (बुधबार) भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले क्वाटरफाइनलमा यात्रा पक्का गरेको हो।

जावलाखेलको जीतमा निकोलस ओडेन ह्यामिन्टन र बुबाकार सिसोखोले गोल गरे।

ओडेन ह्यामिन्टन खेलको ५४ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।

त्यस्तै, बुबाकार सिसोखोले खेलको ६६ औं मिनेटमा टोलीका लागि गोल थप्दै जीत सुनिश्चित गरे।

आजको खेलमा जावलाखेलका निकोलस ‘म्यान अफ दी म्याच’ घोषित भए।

जावलाखेलले फागुन ३ गते चर्च व्वाइज युनाइटेडसँग सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्नेछ।

भोलि (विहिबार) तेश्रो प्रि—क्वाटरफाइनल खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लवबिरुद्ध मनाङ मर्स्याङ्दी क्लवबीच खेल हुनेछ।

अस्थायी फ्लडलाइट जडान गरेपनि प्रर्याप्त मात्रमा खेल्न योग्य नभएको गुनासो आएसँगै आजदेखि आयोजक सहारा क्लवले दिउसो ४:०० बजेदेखि खेल संचालन गर्न सुरु गरेको हो।

यसअघि, ५:०० बजे पछि साँझमा खेल संचालन गर्ने तयारी गरिएको थियो।

फागुन ९ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा ३ विदेशीसहित १२ टिमको सहभागिता छ।

प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र जित्नेछ।

त्यस्तै, उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

यस वर्षको सर्वोत्कृष्ट खेलाडीले टेल्जी इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्।

हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ।