
मनाङ मर्स्याङ्दी क्लवले २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ।
पोखरा रंगशालाको फुटबल मैदानमा आज (विहिबार) भएको तेश्रो प्रि—क्वाटरफाइनल खेलमा मनाङले उत्कृष्ट कमव्याक गर्दै विभागीय टोलीसशस्त्र प्रहरी वलको एपीएफ क्लवलाई २—१ को गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा यात्रा तय गर्यो।
मनाङको जीतमा रोनिस ढेके राजभक्त र शुरेस कुमालले १/१ गोलको योगदान दिए।
विभागीय एपीएफका युवराज राईले १ गोल गरे।
पहिलो हाफमा १—० ले पछि परेको मनाङले दोश्रो हाफमा सुधार गर्दै जीत निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो।
खेलको ११ औं मिनेटमा युवराजको गोलमा टिमले अग्रता लिएपनि विभागीय एपीएफले बाँकी समयमा सम्हालिन नसक्दा र पाएका केही अवसर सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिनु पर्यो।
खेलको ५७ औं मिनेटमा राजभक्तले गोल गरी खेल बराबरीमा पु्र्याए।
त्यस्तै, खेलको ७७ औं मिनेटमा मनाङका कुमालले गोल गरी टिमलाई निर्णायक जीत दिलाए।
आजको खेलमा मनाङका रोनिस ढेके ‘म्यान अफ दी म्याच’ घोषित भए।
मनाङले अब भारतको सिक्किम थण्डरबोल्ट नर्थ युनाइटेडसँग फागुन ४ गते सेमिफाइनलका लागि क्वाटरफाइनल खेल्नेछ।
यसैबीच, भोलि (शुक्रबार) दिउँसो ३ बजेपछि अन्तिम प्रि—क्वाटरफाइनल खेलमा प्लानिङ व्वाइज युनाइटेडबिरुद्ध फ्रेन्ड्स क्लवबीच खेल हुनेछ।