प्लानिङ ब्वाइज युनाइटेड आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

फ्रेण्ड्स क्लवबिरुद्द प्लानिङ ब्वाईजको एकतर्फी ४ गोल

जनसम्मत
फागुन १, २०८२, शुक्रबार

प्लानिङ ब्वाइज युनाइटेडले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ।

सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करण अन्तर्गत आज (शुक्रबार) भएको प्रतियोगिताको चौथो खेलमा फ्रेण्ड्स क्लवलाई पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेडले क्वाटरफाइनलमा स्थान बनाएको हो।

शुक्रबारको खेलमा फ्रेण्ड्स क्लवको पोष्टमा प्लानिङ ब्वाइजले एकतर्फी ४ गोल गर्‍यो।

प्लानिङ ब्वाइजका लागि पापा आइबाउले केबेले ह्याट्रिक गोल गरे।

त्यस्तै, एलेक्स विलियनले १ गोल गरे।

कमजोर फ्रेण्ड्सबिरुद्ध प्लानिङ ब्वाइजले २४ औं मिनेटमा अग्रता लियो।

उसका लागि एलेक्स विलियनले पहिलो गोल गर्दै अग्रता दिलाए।

पहिलो गोलपछि फ्रेण्ड्सबिरुद्ध थप हाबी भएको प्लानिङ ब्वाइजका लागि पहिलो हाफको अन्तिम मिनेटमा केबेले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २ गोल गरेको प्लानिङ ब्वाइजले दोस्रो हाफमा पनि थप २ गोल गर्न सफल बन्यो।

प्लानिङ ब्वाइजका लागि केबेले ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो र टिमका लागि भने तेस्रो गोल गर्दै अग्रता तेब्बर पारे।

त्यतिमा नरोकिएका केबेले खेलको ८१ औं मिनेटमा टिमका लागि चौथो गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे।

यो ह्याट्रिक प्रतियोगिताकै पहिलो हो।

खेलमा प्लानिङ ब्वाइजका लागि ह्याट्रिककर्ता केबे ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगितामा शनिबारदेखि क्वाटरफाईनलका खेलहरु संचालन हुने आयोजक सहारा क्लव पोखराले जनाएको छ।

क्वाटरफाइनलको पहिलो खेलमा शनिबार आयोजक सहारा क्लव र नेपाल पुलिस क्लवबीच सेमिफाइनलका लागि प्रतिस्पर्धा हुने अध्यक्षकेशवबहादुर थापाले जानकारी दिए।

खेल अपराह्न ३ बजेदेखि सुरु हुनेछ।