
आयोजक सहारा क्लवले पोखरा आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा स्थान बनाएको छ।
सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय नेपाल पुलिस क्लवलाई सडन डेथको शिकार बनाउँदै सहारा क्लबले अन्तिम ४ मा स्थान बनाएको हो।
सडन डेथको शिकार भएको पुलिस भने प्रतियोगिताबाट बाहिरिएको छ।
प्रतिष्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटको समय १/१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकर सुटआउटमा गएको थियो।
टाइब्रेकरमा पनि ४/४ को स्थिति भएपछि खेल सडन डेथमा गएको थियो।
टाइब्रेकरमा सहाराका विनय तामाङ, विक्की चाम्लिङ राई, सिशास थापा र भागवत चौधरीले गोल गरे भने पुलिसका निरज खड्का, दशरथ गिरी, अमित टमाटा र सञ्जीव लामाले गोल गरे।
टाइब्रेकरमा सहाराका राम वाजीको प्रहार पुलिसका गोलकिपर टिकेन्द्र थापाले रोके। त्यस्तै, पुलिसका गोलकिपर थापाले गरेको प्रहार बाहिरिदा खेल सडन डेथमा पुगेको थियो।
पहिलो सडन डेथमा सहाराका प्रसन्न श्रेष्ठ र पुलिसका जोन विष्टले गोल गरेपछि दोस्रो सडन डेथमा खेल गएको थियो।
जसमा आयोजक सहाराले बाजी मार्यो।
दोस्रो सडन डेथमा सहाराका विदेशी खेलाडी टाय डिनियल बाडारुले गोल गरे।
तर, पुलिसका धिरेन्द्र साहले गरेको प्रहारमा सहाराका गोलकिपर बाधक बन्दा सहाराको सेमीफाइनल पुग्ने बाटो खुल्यो।
त्यसअघि, निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समय पनि खेल १/१ को बराबरीमा रोकिएको थियो।
खेलको ४९ औं मिनेटमा पुलिसले गोलको खाता खोल्दै अग्रता बनाएको थियो।
पुलिसका लागि राम वाजीले गोल गर्दै अग्रता बनाउन सफल भएका थिए।
तर, त्यो अग्रता धेरैबेर रहेन।
एक गोलले पछि परेको अवस्थामा आक्रामक रणनीति अपनाएको सहाराले खेलको ६१ औं मिनेटमा बराबरी गोल फर्काएको थियो।
सहाराले पाएको पेनाल्टी अवसरमा मुकुन्दकुमार निउरेले सहजै जाली चुमाए।
शनिबारको खेलमा सहाराका टिकेन्द्र थापा ‘म्यान अफ दि म्याच’ घोषित भए।
सहारा क्लव पोखराको आयोजनामा भइरहेको आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करणको प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो क्र्वाटरफाइनल खेलमा जावलाखेल युथ क्लब र अपी पावर चर्च ब्वाइज युनाइटेडबीच सेमिफायनलका लागि प्रतिस्पर्धा हुनेछ।