
जावलाखेल युथ क्लवले आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा स्थान बनाएको छ।
जावलाखेलले अपी पावर चर्च ब्वाइज युनाइटेडलाई ३–० को फराकिलो गोलअन्तरले हराउँदै २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको अन्तिम चारमा पुगेको हो।
पहिलो हाफ गोलरहित भएको खेलमा दोस्रो हाफमा भने जावलाखेलले पकड जमायो।
दोस्रो हाफमा आक्रामक रणनीति अपनाएको जावलाखेलले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै गोल गर्दै अग्रता बनायो।
चर्च ब्वाइजका गोलकीपर दिप कार्कीको गल्तीलाई सदुपयोग गर्दै जावलाखेलका धर्मेन्द्र कुँवरले गोल गरे।
धर्मेन्द्रले विपक्षी गोलकीपरबाट रिबाउण्ड बललाई सिधै जाली चुमाए।
पहिलो गोलबाट उत्साहित बनेको जावलाखेलले ८८ औं मिनेटमा अग्रता दोब्बर बनायो।
जावलाखेलका लागि विदेशी खेलाडी निकोलस ओडाने ह्यामिल्टनले गोल गर्दै अग्रता दोब्बर बनाए।
चर्च ब्वाइजले तेस्रो गोल भने अतिरिक्त समयमा बेहोर्यो।
जावलाखेलका सुजन गुरुङले गोल गर्दै आफ्नो टिमलाई फराकिलो जीत दिलाए।
खेलमा जावलाखेलका निकोलस ‘म्यान अफ दी म्याच’ घोषित भए।
हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा भइरहेको आहा ! रारा पोखरा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेल भोली (सोमबार) मनाङ मर्स्याङ्दी क्लब र थण्डरबोल्ड नर्थ युनाईटेड क्लब सिक्किम प्रतिस्पर्धामा उत्रिने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।