काभा महिला भलिबल: नेपाल पुलिसको विजयी सुरूवात

पुलिसले उज्वेकिस्तानको हुमोलाई ३–१ को सेटमा हरायो

जनसम्मत
माघ २३, २०८२, शुक्रबार

विभागीय नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब लिग–२०२६ मा विजयी सुरुवात गरेको छ।

माल्दिभ्सको राजधानी मालेमा बिहीबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो।

खेलको सुरुआतदेखि नै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा पुलिसले कडा संघर्षपछि ३०–२८ को रोमाञ्चक जीत निकाल्यो।

दोस्रो सेटमा भने लय कायम राख्न नसक्दा पुलिस २१–२५ ले पछि पर्‍यो।

तर, त्यसपछि पुलिसले खेलमा कमब्याक गर्दै तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्‍यो।

लगत्तै, चौथो सेट पनि पुलिसले २५–२३ ले आफ्नो पक्षमा पार्दै पहिलो खेलबाट सुखद सुरुवात गर्‍यो।

काभा क्लब च्याम्पियनसीपका नाममा पहिलो संस्करण जितेको पुलिस यसपटक समूह ‘बी’ मा छ।

पुलिसले शुक्रवार इरानको फुलाड एमएससँग खेल्नेछ।

समूह चरणको अन्तिम खेल आयोजक माल्दिभ्सको हुर्रा सिसीसँग खेल्नेछ।

समूह ‘ए’ मा माल्दिभ्सको क्लब हुम्को, श्रीलंकाको हिर्दारामानी एससी र काजकिस्तानको तुरान एससी छन्।

राउन्ड रोबिन लिगपछि समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।