नेपाल पुलिस काभा भलिबल लिगको सेमिफाइनलमा पराजित

कजाकिस्तानको तुरान भलिबल क्लबसँग ३–० को सोझो सेटमा पराजित बन्यो

जनसम्मत
माघ २६, २०८२, सोमबार

नेपाल पुलिस क्लब काभा वुमन्स लिगको सेमिफाइनलमा पराजित भएको छ।

पुलिस आज (सोमबार) भएको सेमिफाइनलमा समूह ‘ए’ को विजेता कजाकिस्तानको तुरान भलिबल क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको हो।

तुरानसँग २५–१४,२५–१३,२५–११ ले पराजित भएपछि पुलिस उपाधि रक्षाबाट चुक्यो।

माल्दिभ्सको मालेस्थित सोसल सेन्टरको इन्डोर हलमा पुलिसले घरेलु टोली हुर्रा सोसाइटी क्लबलाई ३–० ले हराउँदै समूह ‘बी’ को उपविजेता बनेको थियो।

पुलिस २५–१९, २६–२४ र २५–१६ ले विजयी भएको थियो।

समूह चरणका ३ मध्ये पुलिसले २ मा जीत र १ मा हार बेहोरेको छ।

पुलिस दोस्रो खेलमा इरानको फुलाद सेपाहाङ स्पोर्टस क्लबसँग २५–१४,२५–१५,२५–१८ ले हारेको थियो।

पुलिसले पहिलो खेलमा इरानको हुमो भिसीलाई ३०–२८, २१–२५,२५–२१,२५–२३ ले हराएको थियो।

पुलिस च्याम्पियनसीपको साविक विजेतासमेत हो।