मनाङ मर्स्याङ्दी पनि आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा

पाहूना टोलीका सुराग क्षत्रीले गरेको गोलले मान्यता नपाउँदा थण्डरबोल्टको दूर्भाग्य !

जनसम्मत
फागुन ४, २०८२, सोमबार

मनाङ मर्स्याङ्दी क्लवले पनि आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।

मनाङले भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब सिक्किमबिरुद्ध १–० को कठिन जीत निकाल्दै आहा ! रारा पोखरा गोल्डकपको अन्तिम ४ मा स्थान बनाएको हो।

मनाङको जीतमा आशिष श्रेष्ठले निर्णायक गोल गरे।

उनले निर्धारित ९० मिनेटको समय सकिएर थपिएको अतिरिक्त समयको पहिलो हाफको ईञ्जुरी समयमा गोल गर्दै मनाङलाई निर्णायक जीत दिलाए।

आशिषले हेडर गोल गरेका हुन्।

हाफको ईञ्जुरी समयमा मनाङले कर्नर पायो।

कर्नर बललाई सदूपयोग गर्दै टोलीका लागि आशिषले निर्णायक गोल गरे।

प्रतिस्पर्धात्मक रुपमा भएको खेलमा पहिलो र दोस्रो हाफ गोलरहित बराबरीमा सकियो।

यसअघि, निर्धारित ९० मिनेटको समय सकिए पछि थपिएको सातौं मिनेटमा थण्डरबोल्टको गोलले मान्यता नपाउनु उसका लागि दुर्भाग्य बन्यो।

खेलको ९७ औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट थन्डरबोल्टका खेलाडी सुराग क्षत्रीले गरेको प्रहार बारमा लागेर गोल लाइनभित्र ठोक्किएर रिबाउण्ड भएपनि रेफ्री उमेश विडारीले मान्यता दिएनन्।

यस विषयमा थन्डरबोल्टले केहिबेर गोल भएको जिकीरसमेत गर्‍यो।

सो गोलले मान्यता नपाउनु नै दुर्भाग्य बन्दा थन्डरबोल्ट पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरियो।

सोमबारको खेलमा मनाङका लागि निर्णायक गोलकर्ता आशिष श्रेष्ठ ‘म्यान अफ दी म्याच’ बने।

प्रतियोगिता अन्तर्गत भोलि (मंगलबार) अन्तिम क्वाटरफाइनल खेल हुनेछ।

सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोलीको टुंगो लगाउनका लागि हुने खेलमा प्लानिङ ब्वाइज युनाइटेड र आभा एफसी उज्वेकिस्तान प्रतिस्पर्धामा उत्रिने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।

प्लानिङ ब्वाइज फ्रेण्ड्स क्लवलाई पराजित गरेर क्वाटरफाइनलमा स्थान बनाएको टोली हो भने आभा एफसी सिधै वाई पाएर क्वाटरफाइनल खेल्न लागेको हो।