
सूचनाको हकबाट कुनैपनि नागरिक वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघले राष्ट्रिय सूचना आयोगको सहकार्यमा ‘मिडियामा सूचनाको हकको प्रयोग: अभ्यास र चुनौती’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं अर्थमन्त्री रामेश्वर खनालले जनताको सूचनाको हक माग्ने अधिकारको प्रत्याभूति ऐनले मात्र नहुने भन्दै यसलाई समयको मागले समेत निर्धारण गर्ने उल्लेख गरे।
खनालले सही सूचना सही समयमा पाउनुले ठूलो अर्थ राख्ने भन्दै सूचनाको दुरुपयोग गर्न नहुनेमा जोड दिए।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा.सुरेश आचार्यले खराब प्रयोजनका लागि सूचनाको हक प्रयोग गर्ने प्रवृत्ति बढेको औंल्याए।
उनले सूचनाको हक दैनिक प्रयोगका लागि नभई लुकाइएका सूचना सार्वजनिक गर्नका लागि भएको स्पष्ट पारे।
आयोगले जनताको मौलिक हक कार्यान्वयन र सार्वजनिक हितका लागि सूचनाको हक प्रवर्द्धन गर्ने काम गरिरहेको उनले बताए।
महासंघ अध्यक्ष निर्मला शर्माले सूचनाको हक प्रयोग गर्नेमा सबैभन्दा धेरै पत्रकारहरू नै रहेको बताइन्।
यसको दुरुपयोग गर्न नहुने धारणा शर्माले राखिन्।
उनले मिथ्या र अपूर्ण सूचनालाई निरुत्साहित गरी सूचना प्रवाहलाई प्रभावकारी बनाउन यसको सही प्रयोग हुनुपर्नेमा जोड दिइन्।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले जुन प्रयोजनका लागि सूचना माग गरिएको हो, सोही अनुसार त्यसको प्रयोग हुनुपर्ने बताए।
आचार्यले पत्रकार आचारसंहिता उल्लंघन गर्ने संचारमाध्यम तथा पत्रकारलाई नियमानुसार कारबाही हुने भन्दै नैतिक पत्रकारिताको अभ्यासमा जोड दिनुपर्ने बताए।
महासंघका पूर्वसभापति तारानाथ दाहालले सूचनाको हकको कार्यान्वयनले देशको सुशासनको अवस्था उजागर गर्ने धारणा राखे।
उनले सूचनाको हक प्रयोग गरी संचारमाध्यमका विषयवस्तुलाई तथ्यपरक र विश्वसनीय बनाउन सकिने बताए।
यसको प्रवर्द्धनमा संचारमाध्यमले प्रभावकारी भूमिका खेल्नुपर्ने दाहालको भनाई थियो।
महासंघका पूर्वअध्यक्ष डा.महेन्द्र विष्टले सूचनाको हकलाई प्रभावकारी बनाउन कार्यालयहरूमा सूचना अधिकारी राखिनु राम्रो अभ्यास भएपनि कतिपय अवस्थामा सूचना अधिकारी नै सूचनाको पहुँचभन्दा बाहिर रहन सक्नेतर्फ सचेत हुनुपर्ने औंल्याए।
उनले सूचनाको हक रिस उठेका बेला नभई जनताको अधिकार प्रवर्द्धनका लागि प्रयोग हुनुपर्ने धारणा राखे।
त्यसैगरी, महासंघका पूर्वअध्यक्ष विपुल पोख्रेलले सूचनाको हकसम्बन्धी ऐन आएको १८ वर्ष पूरा हुँदासमेत त्यसको प्रभावकारी कार्यान्वयन नभएकोतर्फ समीक्षा गर्नुपर्ने उल्लेख गरे।
उनले सूचनाको हक राज्य र जनताबीच सुमधुर सम्बन्ध कायम गर्ने माध्यम भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने बताए।
कार्यक्रममा सूचनाको हक कार्यान्वयनको अवस्थाबारे अभियन्ता तथा पत्रकारहरूसँग समूहगत छलफलसमेत गरिएको थियो।
छलफलका वक्ताहरूमा महासंघका अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्य, महासंघका उपाध्यक्ष तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्द, महासंघका पूर्वसभापति तारानाथ दाहाल, वरिष्ठ पत्रकार बबिता बस्नेत र दुर्गा दुलाल थिए।
छलफलको सहजीकरण महासचिव रामप्रसाद दाहालले गरेका थिए।
मिडियामा सूचनाको हकको प्रयोग, अभ्यास बारेमा पत्रकार तथा शिक्षक एकराज पाठकले कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा महासंघका पदाधिकारी, सदस्यहरूका साथै विभिन्न निकायका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति थियो।
महासंघका सचिव बैकुण्ठराज पराजुलीले कार्यक्रमको सहजिकरण गरेका थिए।