
प्रेस काउन्सिल नेपालमा ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी बुधबार प्रेस काउन्सिलले उक्त छलफल कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिलले स्वच्छ, निष्पक्ष र स्वतन्त्र भई काम गरिरहेको उल्लेख गरे।
अध्यक्ष आचार्यले प्रतिबद्धता जनाए, ‘काउन्सिलले पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै आगामी दिनमा थप सुधारोन्मुख भई आफ्नो जिम्मेवारी पूरा गर्नेछ।’
उनले पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहन आग्रहसमेत गरे।
उनले आफूले काउन्सिललाई विगतमा भन्दा फरक ढंगले लैजान चाहेको बताए।
अध्यक्ष आचार्यले काउन्सिललाई अझ प्रभावकारी रूपले अगाडि बढाउन सम्पादकहरूले दिएका सुझावहरुलाई पालना गरी काउन्सिललाई सुधारोन्मूख गर्दै अगाडी लैजाने बताए।
कार्यक्रममा सूचना तथा संचार प्रविधि मन्त्रालय, निर्वाचन आयोग, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिलका बोर्ड सदस्यहरु, सदस्यहरु तथा अधिकारीहरुसहित विभिन्न अनलाइन मिडियाका सम्पादकहरुको सहभागिता थियो।
यसै क्रममा आसन्न प्रतिनिधिसभाको निर्वाचनको समय रहेको वर्तमान अवस्थामा पत्रकारले पत्रकार र निर्वाचन आचारसंहितामैत्री भई सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले समाचार सम्प्रेषण गर्दा पत्रकार र निर्वाचन आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिइन्।
सचिव बस्नेतले भनिन्, ‘समाचार सम्प्रेषण गर्दा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पत्रकारको कर्तव्य हो।पत्रकारले सन्तुलित एवं सत्य–तथ्य सूचना प्रवाह गरी निर्वाचलाई सफल बनाउँन भूमिका खेल्नुपर्छ।’
कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा काउन्सिलका सदस्य सचिव छवीन्द्र पराजुलीले संचारमाध्यम सूचना प्रवाहको संवाहक भएको बताए।
सही र सत्य समाचार सम्प्रेषण गरी पत्रकारिताको व्यवसायिक धर्म निर्वाह गर्न पत्रकारहरुलाई उनले आग्रहसमेत गरे।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले छापा संचारमाध्यमका सामग्रीका पछिल्ला प्रवृत्ति र काउन्सिलमा परेका उजुरीबारे जानकारी गराए।
उनले अनलाइन संचारमाध्यमहरुको स्वअनुगमन गर्दा पछिल्लो समय चरित्रहत्या, भ्रामक, घृणात्मक अभिव्यक्ति तथा एकपक्षीय
समाचारलगायतका समाचारीय सामग्रीहरु सम्प्रेषण गर्ने प्रवृति बढिरहेको र सोही विषयमा सबैभन्दा बढी उजुरीहरु आइरहेको कार्यक्रममा जानकारी गराए।
वरिष्ठ प्रशासकीय अधिकृत खनालले काउन्सिलले मिडियालाई मात्र नभई मिडियाको सामाजिक संजालको पनि नियमन, अनुगमन भइरहेको र कतिपय अवस्थमा सामाजिक सञ्जालमा एकदमै भाइरल भएका सामग्रीहरु पनि अनुगमन भइहरेको जानकारी गराए।
कार्यक्रममा जसनेपाल डटकमका सम्पादक अरुण बरालले पछिल्लो समय पत्रकारहरुले व्यक्तिगत सोसल मिडियाको अकाउन्टबाट आचारसंहिताविपरितका सामग्रीहरु राख्ने गरेको हुँदा पत्रकारहरुको सामाजिक सञ्जाललाई पनि नियमन र अनुगमन गर्नुपर्ने बताए।
लोकान्तर डटकमका सम्पादक बिमल गौतमले निर्वाचन आचारसंहिता र प्रेस काउन्सिलले खेल्नुपर्ने भूमिका लगभग मिल्ने बताए।
काउन्सिलले सिंगो मिडिया क्षेत्रको विश्वसनियताको लागि काम गर्नूपर्ने उनले बताए।
काउन्सिलले पत्रकारहरुको लाइसेन्स सिस्टमको प्रारम्भ गर्नुपर्ने, अनलाइन संचारमाध्यमको वर्गीकरण गर्नुपर्नेमा जोड दिए।
यस्तै, पत्रकार महासंघको सचिव प्रकाश धौलकोटीले काठमाडौं भन्दापनि काठमाडौं बाहिरका पत्रकारहरुले प्राय: आचारसंहिता पालना नगरेको यसमा पनि सामाजिक सञ्जालहरु हेरिनसक्नु अवस्थामा रहेका बताए।
धौलाकोटीले यसतर्फ काउन्सिलको ध्यानाकर्षण गराए।
गोरखापत्र अनलाइनका लक्की चौधरीले पछिल्लो समय अनलाइन मिडियाहरुले अत्याधिक मात्रामा पोष्ट डिलिट गर्ने गरेको प्रवृति बढिरहेकोमा चिन्ता व्यक्त गरिन्।
उक्त कार्यक्रममा काउन्सिलका सह-प्रशासकीय अधिकृत रामशरण बोहराले सामाजिक सञ्जालसम्बन्धी अनुगमन र उजुरी प्रकृयाबारे जानकारी दिए।
बोहराले आचारसंहिताका विषय र पछिल्ला प्रवृत्तिबारे समेत जानकारी गराए।
काउन्सिलले मंगलबारमात्रै छापा माध्यमका सम्पादकहरूसँग पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिकामा केन्द्रीत रहेर छलफल गरेकोमा सम्बन्धित अन्य सरोकारवालसँग पनि यसै सन्दर्भमा छलफल गर्दै जाने जनाएको छ।