उज्वेकिस्तानको आभा फुटबल क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

भोलि (बुधबार) पहिलो सेमिफाइनल आयोजक सहारा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच हुनेछ

जनसम्मत
फागुन ५, २०८२, मंगलवार

उज्वेकिस्तानको आभा फुटबल क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोलले पराजित गरी आभा सेमिफाइनल पुगेको हो।

आभालाई सेमिफाइनल पुर्‍याउन उमिदजोन कारिलोभले निर्णायक गोल गरे।

खेलको ५६ औँ मिनेटमा कारिलोभले गरेको गोल नै मंगलबारको खेलको पहिलो, अन्तिम र निर्णायक गोल बन्यो।

उमिदजोन कारिलोभ नै सो खेलको ‘म्यान अफ दी म्याच’ घोषित बने।

दुबै टोलीले खेलमा पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन्।

अब, आभाले जाउलाखेल युथ क्लबसँग फाइनलका लागि बिहीबार सेमिफाइनल खेल्नेछ।

गत वर्ष २४ औँ आहारारा पोखरा गोल्ड कपको उपाधि जितेको उज्बेकिस्तानको ब्ल्याक बुल्स क्लब अहिले आभा फुटबल क्लबको नामबाट प्रतियोगितामा सहभागी भएको हो।

बुधबार पहिलो सेमिफाइनल खेल आयोजक सहारा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ।