आयोजक सहाराले जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि

१४ वर्षपछि फाइनल खेलेको जावलाखेल उपविजेतामै सीमित

जनसम्मत
फागुन १०, २०८२, आइतबार

आयोजक सहारा क्लव पोखराले आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ।

सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा जाउलाखेल युथ क्लवलाई २–० गोल अन्तरले हराउँदै सहाराले गोल्डकपको २५ औं संस्करणको उपाधि जित्यो।

२०७० सालमा प्रतियोगिताको पहिलो पटक उपाधि चुमेको आयोजक सहाराले शनिबार दोस्रो पटक उपाधि जित्दै ईतिहास दोहोर्‍यायो।

चौथो पटक फाइनल खेलेको सहारा २०६९ मा फाइनलमा पुगेपनि उपाधिबाट बञ्चित भएको थियो।

त्यसको एक वर्षपछि नै २०७० मा उपाधि चुमेको सहारा २०७३ सालमा फाइनलमा पुगेर दोस्रो पटक पनि उपाधिविहीन बनेको थियो।

१४ वर्षपछि फाइनल खेलेको जावलाखेल भने इतिहास कोर्नबाट चुक्यो।

२०६८ सालमा पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपमा फाइनल खेलेको जावलाखेल त्यसबेला पनि फाइनलमा पराजित भएर उपबिजेतामा सीमित भएको थियो।

१४ वर्षपछि शनिबार भएको भिडन्तमा पनि आयोजकसँग पराजित हुँदै उपाधि होडबाट बाहिरियो।

उपाधि बिजेता सहारा क्लवले नगद १४ लाख १ हजारसहित ट्रफी जित्यो।

उप–बिजेता जावलाखेलले नगद ७ लाख १ हजारसहित शिल्ड मेडल हात पार्‍यो।

आयोजक सहारालाई उपाधि दिलाउन मुकुन्दकुमार न्युरे र डाए डेनिएल बादारुको योगदान रह्यो।

खेलको २५ औं मिनेटमा न्युरेले पहिलो गोल गर्दै आयोजक टोलीलाई अग्रता दिलाए।

सहाराले पाएको कर्नर किकमा न्युरेले सुन्दर हेडर गोल गरे।

त्यस्तै, ७३ औं मिनेटमा डेनिएलले गोल गर्दै अग्रता दोब्बर बनाए।

सुशिल लामाको लामो क्रसलाई हेडरमार्फत डेनिएलले जाली चुमाए।

 

मुकुन्दकुमार ‘सर्वोत्कृष्ट खेलाडी’

 

आयोजक सहारा क्लव पोखराका मुकुन्दकुमार न्युरे प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ बने।

सहारा एकेडेमीका उत्पादन मुकुन्दकुमारले पुरस्कारवापत टेलजीको एक थान स्कुटर हात पारे।

प्रतियोगिताको ‘इमर्जिङ खेलाडी’ पनि मुकुन्दकुमार नै घोषित भए।

त्यस्तै, जावलाखेलका धर्मेन्द्र कुँवर ‘उत्कृष्ट स्ट्राइकर’ बने।

जावलाखेलकै बौबाकार सिस्सोखा ‘उत्कृष्ट मिडफिल्डर’ बने।

आयोजक सहाराका डाय डेनिएल बादारु ‘उत्कृष्ट डिफेन्डर’ भए।

आयोजक सहाराकै टिकेन्द्र थापा ‘उत्कृष्ट गोलकीपर’ घोषित भए।

प्लानिङ ब्वाइजका पापा इबाउ केबे ‘सर्वाधिक गोलकर्ता’ बने।

सहाराका सुनिलकुमार राना ‘उत्कृष्ट प्रशिक्षक’ बने।

आभा एफसी उज्बेकिस्तानले ‘फेयर प्ले’ को अवार्ड पायो।

उत्कृष्ट बनेका सबैले समान २५/२५ हजार नगद र ट्रफी प्राप्त गरे।

बिजेताहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फूड्स प्रालिका निर्देशक प्रकाश केसी, सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापा, संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्षहरु विक्रम थकाली, बिरभद्र आचार्य, सुरज गुरुङ, केशवराज बराललगायतले पुरस्कार वितरण गरे।