
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रेस काउन्सिल नेपालले ‘मौन अवधि र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ।
अनलाइन पत्रकार संघको संयोजनामा काठमाडौँमा भएको अन्तरक्रियामा निर्वाचनको मौन अवधिमा संचार माध्यमले के गर्न हुने ? के गर्न नहुने एवं संचारमाध्यमको भूमिका कस्तो रहने ? भन्ने विषयमा छलफल गरिएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्राडा कुमार इङ्नामले छलफललाई सम्बोधन गर्दै मतदातालाई अवाञ्छित तरिकाले प्रभावित पार्नेगरी कुनैपनि सामग्री तथा संकेत विषयवस्तु सम्प्रेषण नगर्न संचारमाध्यमलाई आग्रह गरे।
उनले प्रेस काउन्सिललाई आग्रह गर्दै प्रश्न गरे, ‘मतदातालाई अवाञ्छित तवरबाट प्रभावित पार्नेगरी संकेत, चिन्ह, विवरण अथवा त्यस्ता सामग्री प्रकाशन/प्रसारण गर्नुहुँदैन। यो बुझ्नुभएकै कुरा हो। ती कुराको परिपालना राजनीतिक दलहरुले मात्रै होइन, अरुले पनि कतिको गर्नुहुन्छ ? जो केही मुख्य प्रतिष्पर्धी, उम्मेदवार भनेर संचार जगतले उल्लेख गरेका र हो जस्तो लागेका सबै किसिमका उम्मेदवारका विषयमा वैध/अवैध, स्वस्थ/अस्वस्थ सबै किसिमका गतिविधि हुने शंका आमजनता, सरकार सबैमा छ। यहाँहरूले त्यसको पनि अनुगमन गरिदिनुहुनेछ भन्ने सरकारको अपेक्षा छ।’
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधि निर्वाचनको शून्य समय भएको बताए।
राष्ट्रपतिबाट निर्वाचनको घोषणा भएबाट नै संचार जगतले सकारात्मक भूमिका खेलेको उनले उल्लेख गरे।
उनले उल्लेख गरे, ‘पछिल्लो समय झुटा प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग अति नै भइरहेको छ। संचार जगतको गलत प्रचार रोक्ने भूमिकाको अपेक्षा आयोगले गरेको छ।’
आयुक्त भण्डारीले मौनअवधिपूर्व सम्प्रेषण भएका दलपक्षीय सामग्री एवं प्रचारात्मक सामग्री सेयर हुनेतर्फ सचेतसमेत गराए।
‘मौन अवधि अगाडि आचारसंहिता लागु भइसकेपछाडि दल र दलका उम्मेदवारले मनोनयन दर्ता गरेपछि विविध प्रकारका साम्रगीहरु आए। यहाँहरुले पनि लेख्नुभयो। अब मौन अवधि सुरु भएपछि दलहरुका घोषणापत्र नीति तथा कार्यक्रम आदिको घनिभूत रुपमा छलफल गरेर संपूर्ण विश्लेषण गर्ने दायित्व यहाँहरुको हो। त्यो गर्नसक्नुहुन्छ।’ उहाँले मतदाता शिक्षा र निर्वाचन आयोगका सामग्री सम्प्रेषणमा जोड दिनुहोला’, उनको आग्रह थियो।
काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले मौन अवधि झन् संवेदनशील समय भएकाले संचार माध्यमको दायित्व स्वत: बढने हुनाले समाचार सम्प्रेषणमा गंभीर हुनुपर्ने औंल्याए।
नेपाल पत्रकार महासंघका अध्यक्ष एवं काउन्सिल सदस्य निर्मला शर्माले निर्वाचनको पूर्वसन्ध्यामा डिजिटल प्लेटफर्ममार्फत पर्नसक्ने भूराजनीतिक असरका विषयमा पनि संचारमाध्यम सजग रहनुपर्ने उल्लेख गरिन्।
वरिष्ठ पत्रकार प्राध्यापक रामकृष्ण भण्डारीले अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै मौन अवधिको आचारसंहिता पूर्णपालना हुनैपर्ने जिकिर गरे।
निवार्चन अघि र मतदान अवधिमा समेत मतदाता प्रभावित पार्ने सामग्री संचारमाध्यमले सम्प्रेषण गर्दा त्यसको असर गुणात्मक रुपमा बढ्ने संकेत गरे।
उनले निर्वाचनको पूर्वसन्ध्यामा कसैको पक्ष र विपक्षका सामग्री देख्दा मतदाताको मुडमा तत्काल असर गर्ने बताए।
विश्वका कतिपय मुलुकले नेपालको निर्वाचन पद्धतिबाट सिको गर्नुपर्ने उनको भनाई थियो।
कार्यक्रममा पत्रकारहरू बैरागी जेठा, चुडामणि कोइराला, केपी ढुंगाना, धनबहादुर मगर, पवित्रा सुनार, भीम आत्रेय, सुसन धमला, नवराज चालिसे, अनुपराज ढुंगेल, राजीव तिमिल्सेना, विद्यार्थी अज्ञजना शाही शर्मा, प्रकाश कपालीलगायतले जिज्ञासा राखेका थिए।
काउन्सिल सदस्य नकुल अर्यालले जिज्ञासाको जवाफ दिँदै निर्वाचनका बेला पत्रकार आकर्षित हुने संपूर्ण विषय काउन्सिलले आफ्नो दायित्व कर्तव्य अनुसार गरिरहेको प्रष्ट पारे।
उनले पत्रकार र संचारमाध्यमका सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययनसमेत काउन्सिलले नै गरिरहेको प्रष्ट पारे।
२४ सै घण्टा स्वअनुगमन, उजुरी प्रणाली र हटलाइन नम्बर सकृय बनाएर काउन्सिलले अनुगमन गरिरहेको अर्यालले बताए।
काउन्सिल सदस्य बालकृष्ण अधिकारीले सहभागीलाई स्वागत गर्दै संवैधानिक संकटका बेला घोषित निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने र यस्तो निर्वाचन पूर्ण सफल बनाउन संचारमाध्यमको सबैभन्दा महत्वपूर्ण भूमिका हुने उल्लेख गरे।
काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो सत्रको सहजीकरण मुख्य अधिकृत झबिन्द्र भुसालले गरेका थिए।
काउन्सिल सदस्य शन्तराम बिडारीले दोस्रो सत्रको सहजीकरण गरेका थिए।
सूचना तथा प्रसारण विभागका महानिर्देशक एवं काउन्सिलका सदस्य–सचिव छविन्द्र पराजुलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।
अनलाइन पत्रकार संका अध्यक्ष शिव सत्यालले दोस्रो सत्रको समापन गरेका थिए।
कार्यक्रममा काउन्सिलका सदस्य रामप्रसाद दाहाल, पूर्वसदस्य खिलबहादुर भण्डारी, चेतनाथ धमलालगायत विभिन्न संचार माध्यमका प्रकाशक एवं सम्पादकहरूको सहभागिता थियो।