
यसपटकको ‘जाउँ है पोखरा’ अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदैछ।
आन्तरिक पर्यटन प्रबर्द्धनको मुख्य उद्देश्य बोकेर यही चैत ९ देखि १३ गतेसम्म यो अभियान संचालन हुनेछ।
होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा हुने यस अभियानअन्तर्गत हेटौंडा, वीरगंज, पशुपतिनगर र विराटनगरलाई छनोट गरेको छ।
पोखराका होटलकर्मी, पर्यटन व्यवसायी र संचारकर्मी संलग्न हुने अभियान अन्तर्गत पत्रकार सम्मेलन, छलफल र अन्तरक्रिया, प्रचार सामग्री वितरण र आन्तरिक पर्यटनका प्याकेज सार्वजनिकलगायतका गतिविधि समेटिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन्।
सुवेदीले भने, ‘पोखरामा आयोजना हुन लागेको २१ औं संस्करणको ‘फेवा नव बर्ष महोत्सव’ मा सहभागिताका लागि पूर्वी नेपालका वासिन्दालाई निमन्त्रणा प्रदान गर्ने अभियानले उद्देश्य लिएको छ।’
अभियानलाई पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोग रहेको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा पर्यटनको राजधानी रहेको र यो शहरलाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन अभियानले सघाउ पुग्ने विश्वास व्यक्त गरे।
‘पोखरामा धेरै भन्दा धेरै पर्यटक भित्राएर उनीहरुको बसाई अवधि लम्ब्याएर बसाईलाई थप रमाइलो र उल्लासपूर्ण बनाउन फेवा नव बर्ष महोत्सव सहयोगी हुनेछ’, लामिछानेले भने।
पोखरा पुग्न चाहने पर्यटकलाई यहाँ निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले थप सहजता थपेको पनि लामिछानेले स्मरण गराए।
आन्तरिक पर्यटन प्रबर्द्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता बोकेर २२ बर्षअघि सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएपछि यसलाई संघले निरन्तरता दिएको जनाइएको छ।
हवाई र स्थल कनेक्टिभिटिको विस्तार गर्दै पूर्वी नेपाल र पोखरावीच पर्यटक तथा व्यवसायको आदान–प्रदान गर्ने अभियानको महत्वपूर्ण उद्देश्य छ।
यसका लागि विगतमा पोखराबाट भद्रपुर र विराटनगर जस्ता शहरसम्म संचालित सिधा हवाई सेवालाई पुन: निरन्तरता प्रदान गर्न र ती शहरबाट पोखरासम्म स्तरीय पर्यटक बस सेवा संचालनका लागि समेत संघले पूर्वका व्यवसायीसँग सहकार्यको प्रस्ताव राख्ने कार्यक्रम छ।
पर्यटनको राजधानी पोखराको होटल क्षेत्रमा मात्र ५ खर्ब रुपैयाँ भन्दा बढीको लगानी रहेको, यस क्षेत्रका १ हजार २ सय होटलमा ४० हजार बेड रहेको र तिनमा १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको संघको अनुमान छ।
नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्द्धनको मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर संघले आगामी चैत २९ देखि वैशाख १ गतेसम्म फेवा तालको किनार लेकसाइडमा २१ औं संस्करणको ‘फेवा नव बर्ष महोत्सव’ आयोजना गर्दैछ।
उक्त महोत्सवमा सहभागिताका लागि पूर्वी नेपालका बासिन्दालाई संघले निमन्त्रणा प्रदान गर्नेछ।