२१ औं संस्करणको ‘फेवा नव वर्ष महोत्सव’ को तयारी तिब्र

यो पटक पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान संचालन गरिदैं

जनसम्मत
चैत्र ६, २०८२, शुक्रबार

यस वर्ष हुने २१ औं संस्करणको ‘फेवा नव बर्ष महोत्सव’ को तयारी तिब्र पारिएको छ।

होटल संघ पोखरा नेपालको हालै सम्पन्न बैठकले २९ चैतदेखि बैशाख १ गतेसम्म लेकसाइडको सडकमा यो महोत्सव संचालन गर्ने निर्णय गरेको हो।

पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक बर्ष झैं यस संस्करणमा पनि महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिएका छन्।

महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरुसमेत गठन गरिएको संयोजक सुवेदीले बताए।

संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीलाई महोत्सवको सह–संयोजकको जिम्मेवारी प्रदान गरिएको सुवेदीले जनाए।

जेन–जी आन्दोलन र त्यसपछि सम्पन्न आम चुनावसँगै अबका दिनमा आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्न महोत्सवले सघाउने विश्वास संघले लिएको छ।

अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै फेवा तालको संरक्षणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य महोत्सवले बोकेको अध्यक्ष सुवेदीले बताए।

महोत्सवका अवसरमा दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु समेटिनेछन्।

महोत्सवको उद्घाटन अघि झाँकीहरुको र्‍याली निकालिने कार्यक्रम छ।

महोत्सवको प्रचारका लागि यही चैत ९ गतेदेखि १३ गतेसम्म संघले पूर्वी नेपालका विभिन्न शहरमा ‘जाउँ है पोखरा’ कार्यक्रम आयोजना गरी महोत्सवमा सहभागिताका लागि निमन्त्रणा प्रदान गर्ने कार्यक्रम छ।