वीरगंजबाट ‘जाउँ है पोखरा’ अभियान सुरु

पोखरा-सिमरा हवाई सेवा सुचारु गर्न व्यवसायीहरुको जोड

जनसम्मत
चैत्र १०, २०८२, मंगलवार

नेपालको आर्थिक नगरी वीरगंजबाट यसबर्षको ‘जाउँ है पोखरा अभियान’ सुरु भएको छ।

होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा यो कार्यक्रम सुरु भएको हो।

आन्तरिक पर्यटन प्रबर्द्धनको मुख्य उद्देश्य बोकेर सुरु भएको अभियान चैत १३ गतेसम्म संचालन हुनेछ।

आन्तरिक पर्यटन प्रबर्द्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यताअनुरुप २५ बर्षअघि यो अभियान सुरु भएको थियो।

अभियान अन्तर्गत विराटनगर, इलाम र हेटौंडालाई पनि छनोट गरिएको छ।

वीरगंज उद्धोग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले अभियानको उद्घाटन गरे।

उनले सो अवसरमा बोल्दै नयाँ बन्ने सरकारले पर्यटन नीति सुधार गरे देशले आर्थिक फड्को मार्न सक्ने औंल्याए।

सीमा-नाकामा भारतीय पर्यटकलाई ३ किलोमिटर दुरीमा ७ ठाउँमा चेकिङ गर्ने गरिएको बताउँदै गौतमले असन्तुष्टी जाहेर गरे।

भारतीय पर्यटक नेपाली पर्यटनको आधार बन्न सक्ने उनले बताए।

उनले नेपालले पूर्वाधार विकासमा ध्यान दिनुपर्ने सुझावसमेत दिए।

आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले माओवादी द्वन्द्व, भुकम्प, नाकाबन्दी, कोभिड र बैंकको चर्को ब्याजदेखि मध्यपूर्व तनावसम्म आइपुग्दा नेपाली पर्यटनले धेरै मार खेप्नु परेको उल्लेख गरे।

उनले विगतमा संचालन भएर वीचमा रोकिन पुगेको पोखरा–सिमरा हवाई उडान सेवा पुन: संचालन गर्नुपर्ने आबश्यकता औंल्याए।

मधेश प्रदेशका पूर्ब मन्त्री ओमप्रकाश शर्माले पोखरा-सिमरा उडान रोकिनु दु:खद विषय भएको बताए।

यात्रु अभाव हुँदा जहाज कम्पनीलाई हुने घाटा ब्यहोरेर भएपनि सरकार र नीजी क्षेत्र मिलेर हवाई उडान सुचारु गरिनुपर्ने उनको सुझाव थियो।

संघका अध्यक्ष सुबेदीले पोखराको होटल क्षेत्रमा मात्र ६ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको जानकारी दिए।

उनले पोखरा पुग्ने पर्यटकमध्ये ४० प्रतिशत हिस्सा आन्तरिक पर्यटकको रहने गरेको जानकारी दिए।

उनले यही चैत २९ देखि बैशाख १ गतेसम्म फेवातालको किनार लेकसाइडमा आयोजना हुने नयाँबर्ष महोत्सवमा सहभागिताका लागि पुर्वका बासिन्दालाई निम्तो प्रदान गरे।

महोत्सवका सहभागी पाहुनालाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने घोषणा पनि उनले गरे।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणिराज लामिछानेले सो अवसरमा बोल्दै पोखरालाई उत्कृष्ट र पहिलो रोजाईको पर्यटकीय गन्तव्य बनाउन बोर्डले ब्यबसायीसँग सहकार्य गरेर अगाडि बढिरहेको उल्लेख गरे।

कार्यक्रममा ब्यबसायीले भारतीय र तराई मूलका पर्यटकलाई पोखरामा भेदभाव गर्ने गारिएको, सीमा-नाकामा भारतीय पर्यटकले हैरानी खेप्नु परेको, पोखराका ट्यक्सीले मनलाग्दी भाडा असुल्ने गरेको र पोखरामा भारतीय पर्यटकका सवारीलाई निर्वाध संचालनमा अबरोध सिर्जना गर्ने गरिएको गुनासो सुनाए।

भारतीय सवारीलाई सीमानाकामा दिइने प्रज्ञापनपत्र अनलाइनमार्फत् दिनसमेत ब्यबसायीले माग गरे।

२५ हजार भारु भन्दा बढी रकम बोकी नेपाल आउने भारतीयलाई सीमानामा अझैपनि दु:ख दिने गरिएको विषय पनि सो अवसरमा चर्चा चल्यो।

पोखरामा फोहोर बढेको, कंकृटका घर बढ्दै गएको र फेवाको उचित संरक्षण नभएको भन्दै उनीहरुले चिन्ता ब्यक्त गरे।

कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा र वरपरका उत्कृष्ट पदयात्रा गन्तव्यका बारेमा चर्चा गरे।

पूर्ब र पोखराले एक-अर्काको हितको लागि पर्यटक र व्यापार आदान-प्रदान गर्न सक्ने उनले औंल्याए।