
‘जाउँ है पोखरा’ को अभियान पूर्वी नेपालको विराटनगर पुगेको छ।
अभियानअन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले विराटनगरवासीलाई पोखरामा हुने ‘फेवा नवबर्ष महोत्सव’ को निम्तासमेत दिएको छ।
नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान दिएको हो।
पर्यटन संस्कृती र खानालाई जोड दिएर यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म यो महोत्सव हुँदै छ।
विराटनगरमा आयोजित कार्यक्रममा होटन संघ नेपाल कोशीका अध्यक्ष राजन श्रेष्ठले २५ बर्षदेखी ‘जाउँ है पोखरा’ अभियानलाई निरन्तर संचालन गर्नु सर्हानीय कदम भएको औंल्याए।
प्रबर्द्धनका यस्ता अभियानलाई भारतका उत्तरप्रदेश र बिहारमासमेत संचालन गर्न उनले सुझाव दिए।
कोशी प्रदेशले पनि पर्यटनको अपार संभावना बोकेको भन्दै उनले प्रचार–प्रसारको अभावले यो प्रदेश पछि परेको बताए।
आयोजक संघका अध्यक्ष लक्ष्मण सुबेदीले पोखरा पर्यटनका हिसाबले निकै सस्तो गन्तब्य भएको बताए।
फेवा महोत्सवका पाहुनालाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गरिएको बताए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा अन्नपूर्ण क्षेत्र प्रवेशको आधार क्षेत्र मात्र नभई प्याराग्लाइडिङ, बञ्जी जम्पिङ जस्ता साहसिक पर्यटनको गन्तब्य समेत भएको बताए।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सह–कार्यमा यो पटकको ‘जाउँ है पोखरा’ अभियान संचालनमा छ।
अभियान १३ चैतसम्म चल्नेछ।
कार्यक्रममा कोशी भ्रमण बर्ष-२०८२ का संयोजक भविस श्रेठले नेपाल र भारतमा समेत नेपाल पर्यटन बोर्डले प्रबर्द्धनका कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने सुझाव राखे।
पोखरा र पूर्वी नेपालवीच हवाई र गुणस्तरीय स्थल यातायात सेवा संचालनका लागि पहल जरुरी भएको उनले औंल्याए।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपाली पर्यटनमा कोशी प्रदेशको योगदान उच्च रहेको बताए।
उनले पोखरा र वरपरका लामा–छोटा पदयात्रा गन्तब्यका बारेमा अबगत गराए।
नाट्टा कोशीका अध्यक्ष पुण्य भट्टराईले पोखरामा पूर्वबाट पर्यटक पठाउन आफूले पनि भूमिका खेलिरहेको अवगत गराए।
कार्यक्रमा होटल संघ पोखरा नेपालका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले उपस्थित सबैलाई धन्यवाद दिए।
आयोजक संघका सचिव पार्वता पाण्डेले कार्यक्रम संचालन गरेकी थिइन्।