पोखरा महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता

महानगरभित्रका अति तथा मध्यम गरिब घर-परिवारलाई महानगरपालिकाले नि:शुल्क स्वास्थ्य बीमा सेवा प्रदान

जनसम्मत
चैत्र १३, २०८२, शुक्रबार

पोखरा महानगरपालिकाका अति तथा मध्यम गरिब घर-परिवारलाई महानगरपालिकाले नि:शुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ।

त्यसका लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्ड, गण्डकी प्रदेशबीच सम्झौता समेत भइसकेको छ।

पोखरा महानगरपालिकाको अति तथा मध्यम गरिब घर-परिवारको स्वास्थ्य बीमा कार्यक्रम संचालनका लागि विपन्न नागरिकहरूलाई स्वास्थ्य बीमा कार्यान्वयन कार्यविधि-२०८२, स्वास्थ्य बीमा ऐन र नियमावलीबमोजिम यो कार्यक्रम संचालन गर्न लागेको हो।

पोखरा महानगरपालिकाभित्रका गरिब घरधुरी पहिचान तथा परिचयपत्र विवरणमार्फत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त सूची बमोजिम २०८३ को जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बीमा गरिनेछ।

स्वास्थ्य बीमा नियमावली–२०७५ अनुसार ५ जनासम्म सदस्य भएको प्रतिपरिवार ३५ सय रुपैयाँ र ५ जनाभन्दा बढी सदस्य भएमा प्रतिथप सदस्य ७ सय रुपै्रयाँ बीमाबापतको रकम पोखरा महानगरपालिकाले बीमा बोर्डलाई उपलब्ध गराउनेछ।

महानगरपालिकाको नि:शुल्क बीमा कार्यक्रममा सहभागी तथा नवीकरणका लागि सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब घर-परिवार पहिचानको सिफारिस र दर्ता सहयोगीमार्फत भरिएको दर्ता फारमसमेत संलग्न गरी महानगरपालिकाको स्वास्थ्य महाशाखामा आवेदन दिनुपर्नेछ।

यसरी, पेस हुन आएका विवरणसहितका फारमहरू आवश्यक प्रक्रिया पुरा गरी स्वास्थ्य बिमा बोर्डमा बुझाइसकेपछि स्वास्थ्य बीमा सूचना प्रणालीमा प्रविष्ट हुनेछ।

यस कार्यक्रमले पोखरा महानगरपालिका क्षेत्रमा रहेका गरिबीको रेखामुनिको लक्षित वर्गको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

नगर प्रमुख धनराज आचार्यले आर्थिक अवस्था कमजोर भएका कारण आधारभूत सेवाको पहुँचमा पुग्न नसकेको वर्गलाई निकै ठूलो राहत मिल्ने बताए।

उनले महानगरपालिकाका संपूर्ण नगरवासीहरूको स्वास्थ्य सुरक्षा र प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको जनाए।

महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलका अनुसार अति तथा मध्यम गरिब परिवारलाई बीमा गर्ने कार्यका लागि दर्ता सहयोगीलाई आवश्यक अभिमुखीकरण गरिनेछ।

साथै, लक्षित वर्गलाई यस कार्यक्रममार्फत लाभ लिन महानगरपालिकाले अनुरोधसमेत गरेको छ।