कनेक्टिभिटीमा जोड दिंदै ‘जाउँ है पोखरा’ को अभियान

यही चैत २९ देखि बैशाख १ गतेसम्म पोखराको लेकसाइडमा २१ औं संस्करणको ‘फेवा नव बर्ष महोत्सव’ हुँदैछ

जनसम्मत
चैत्र १४, २०८२, शनिबार

पर्यटक आदान–प्रदान र कनेक्टिभिटीमा जोड दिंदै यसबर्षको ‘जाउँ है पोखरा×’ अभियान मकवानपुरको हेटौंडामा शुक्रबार समापन गरिएको छ।

यही चैत ९ गतेबाट सुरु भएको पाँचदिने अभियान अन्तर्गत वीरगंज, विराटनगर र इृलाममा पनि पत्रकार सम्मेलन र अन्तरक्रियाहरु आयोजना गरिएको हो।

होटल संघ पोखरा नेपालको अयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा यो अभियान संचालन गरिएको हो।

अभियानको क्रममा पूर्वका भद्रपुर, सिमरा, विराटनगर र फाल्गुनन्द विमानस्थलबाट पोखरासम्म हवाई सेवा संचालनको निरन्तरता र संभाव्यताका विषयमा छलफल भएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन्।

यसैगरी, पूर्वका विभिन्न शहरबाट पोखरासम्म पर्यटकीयस्तरको बस सेवा संचालनबारे समेत बहस अगाडि बढाइएको उनले जनाए।

नयाँ बर्षका अवसरमा यही चैत २९ देखि बैशाख १ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको २१ औं संस्करणको ‘फेवा नव बर्ष महोत्सव’ मा सहभागिताका लागि समेत संघले पूर्वका वासिन्दालाई निमन्त्रणा प्रदान गरेको अध्यक्ष सुवेदीले जानकारी दिए।

पूर्वी नेपालको भ्रमणका क्रममा संघले पर्यटन, संस्कृति र खानालाई जोड दिएर गर्न लागिएको महोत्सवमा पर्यटकलाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने जानकारी गराएको थियो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरालाई पहिलो रोजाईको पर्यटककीय गन्तव्य बनाउने गरी बोर्डले निजी क्षेत्रसँग सहकार्य गरिरहेको जानकारी दिंए।

मध्यपूर्वमा जारी तनावका कारण नेपालको पर्यटन प्रभावित हुने चिन्ता बढेको उनले बताए।

जल, जमीन र आकास सबै क्षेत्रका गतिविधिमा पर्यटकीय पोखराले आफ्नो पहिचान बनाएको उनले उल्लेख गरे।

उनले पूर्व र पोखरा विच पर्यटक र व्यवसायको आदान–प्रदानले पर्यटनको विकासमा थप टेवा पुग्ने सुझाव राखे।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गण्डकी प्रदेशले पदयात्रा पर्यटनको क्षेत्रमा बोकेका अपार संभावनाका बारेमा अवगत गराए।

अन्नपूर्ण क्षेत्रको पदयात्रा, मनाङ, मुस्ताङ र उपल्लो मुस्ताङको भ्रमणलगायत थुप्रै धार्मिक क्षेत्रको दर्शनसमेत ती क्षेत्रमा गर्न सकिने उनको भनाई थियो।

इलाममा आयोजित कार्यक्रम सूर्योदय नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जंगबहादुर गुरुङ र हेटौंडामा आयोजित कार्यक्रम होटल संघ मकवानपुरका संस्थापक एवं होटल व्यवसायी महासंघका सल्लाहकार भागिरथ शर्माले उदटन गरेका थिए।

अभियानमा सहभागीलाई स्वागत पछि सूर्योदय होटल व्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले सुर्योदय खाना महोत्सवका बारेमा जानकारी गराए।

मकवानपुरका संस्थापक एवं होटल व्यवसायी महासंघका सल्लाहकार भागिरथ शर्माले देशको चिनारी र अर्थतन्त्रका लागि पर्यटनको योगदान महत्वपूर्ण हुने भनाई राखे।

आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीले पनि अभियानका अवसरमा भनाई राखेका थिए।

संघका सचिव पार्वती पाण्डेले कार्यक्रमको संचालन गरेकी थिइन्।