
समाचार संकलनमा खटिएका पत्रकार तथा संचारकर्मीमाथि एमाले कार्यकर्ताहरुले कुटपिट र दुर्व्यवहार गरेका छन्।
नेकपा एमालेको सचिवालय बैठकको रिपोर्टिङ गर्न गएका पत्रकारहरुमाथि एमालेका कार्यकर्ताहरुले हातपात गरेका छन् ।
एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा रिपोर्टिङका क्रममा कार्यकर्ताहरुले दुर्व्यवहारसहित हातपात गरेका हुन्।
‘देश जल्दा तिमिहरूको क्यामेरा कहाँ थियो ?’ भन्दै पार्टीका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेका हुन्।
यसअघि पनि उनीहरूले केही पत्रकारलाई लखेटेका थिए।
शनिबार बिहान अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमालेले च्यासलमा आकस्मिक सचिवालय बैठक बोलाएको थियो।
सोही बैठक कभरेज गर्न पुगेका पत्रकारमाथि पार्टी कार्यकर्ताले गालीगलौज गर्दै हातपात गरी लखेटेका थिए ।
कान्तिपुरका पत्रकार दया दुदराज, अनलाइनखबरका कौसल काफ्ले र प्रसुन संग्रौलामाथि कुटपिट र दुर्व्यवहार गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ।
पत्रकार र संचारकर्मीमाथिको कुटपिट र दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ जनाइएको छ।
तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेको विरोधमा भएको प्रदर्शनको समाचार संकलनमा खटिएका पत्रकार एवं संचारकर्मीमाथि आज (शनिबार) भएको कुटपिट र दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको हो।
एमाले पार्टी कार्यालय च्यासलमा समाचार संकलनमा खटिएका महासंघ उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईलाई उत्तेजित एमाले कार्यकर्ताले लात्तीले हानेर लछारपछार गरेको महासंघ काठमाडौं शाखाले जनाएको छ।
महासंघले भनेको छ, ‘कान्तिपुरका पत्रकार दया दुदराज, अनलाइनखबरका कौसल काफ्ले र प्रसुन संग्रौलालाई फोटो खिच्न खोज्दा गाली गर्दै दुर्व्यवहार गरेको जानकारी महासंघमा प्राप्त भएको छ।’
एमाले बैठकको समाचार संकलनमा पुगेका संचारकर्मीहरूलाई एमाले कार्यकर्ताले दुर्व्यवहार गरी पार्टी कार्यालय परिसरबाट लखेटेका थिए।
‘पत्रकारलाई कुटपिट, दुर्व्यवहार र लखेटने कार्य प्रेस स्वतन्त्रता विरोधी हर्कत हो, महासंघ यस कार्यको निन्दा र भर्त्सना गर्दछ’, महासंघले जारी विज्ञप्तिमा भनेको छ।
महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘महासंघ यस्ता कुकर्ममा संलग्नहरूलाई अनुशासनको कारबाही गर्न सम्बद्ध पार्टीसँग र उनीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारका सम्बद्ध निकायसँग माग गर्दछ।’
गत भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि विभिन्न कोणबाट प्रश्न उठिरहेको बेला सरकारले त्यही प्रतिवेदनका आधारमा ओली र लेखकलाई पक्राउ गरेको जनाएको छ।
महासंघको जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको विरोधमा थप प्रदर्शनहरू हुन सक्ने सम्भावना रहेकाले आन्दोलनको समाचार संकलनमा खटिदा पर्याप्त सुरक्षाको ख्याल गर्न संचारकर्मी र प्रेसप्रति संयमता देखाउन आन्दोलनकारीसँग महासंघ विशेष आग्रह गर्दछ।’
