पत्रकारहरु राजबहादुर, फडिन्द्र र एकराजलाई पत्रकारिता पुरस्कार प्रदान

पोखराको अग्रणी सामाजिक संस्था सहारा क्लब पोखरा पनि पोखरा पत्रकारिता पुरस्कार–२०८२ बाट सम्मानीत

जनसम्मत
चैत्र १६, २०८२, सोमबार

पोखरामा कृयाशील पत्रकारहरु राजबहादुर गुरुङ, फडिन्द्र अधिकारी ‘अकिञ्चन’ र एकराज गिरी पुरस्कार पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन्।

नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा महासंघको कास्की शाखाले उनीहरुलाई पुरस्कार प्रदान गरेको हो।

पोखराको अग्रणी सामाजिक संस्था सहारा क्लब पोखरा पनि पोखरा पत्रकारिता पुरस्कार–२०८२ बाट सम्मानीत भएको छ।

गुरुङलाई पोखरा पत्रकारिता पुरस्कार–२०८१ र सहारा क्लब पोखरालाई २०८२ बाट सम्मान गरिएको हो।

त्यस्तै, ‘अकिञ्चन’ र गिरीलाई स्व. जगन्नाथ सिग्देल स्मृति पुरस्कारबाट पुरस्कृत भएका हुन्।

स्व. जगन्नाथ सिग्देल स्मृति पुरस्कार–२०८१ बाट ‘अकिञ्चन’ र सो पुरस्कार–२०८२ बाट गिरी सम्मानीत भएका हुन्।

पोखरा पत्रकारिता पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ छ।

स्व. जगन्नाथ सिग्देल स्मृति पुरस्कार राशि २५ हजार ५ सय ५५ रुपैयाँ छ।

प्रमुख अतिथि, गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रद्वारा पुरस्कार प्रदान गरे।

तीन दशकदेखि पत्रकारिता क्षेत्रमा कृयाशील पत्रकार गुरुङ हाल युनाइटेड खबर डट कम अनलाइनमा आबद्ध छन्।

अग्रज पत्रकार कुसुमकेशव पराजुली, पुण्य पौडेल र गंगाधर पराजुली सदस्य रहेको छनोट समितिले पत्रकार गुरुङ र सहारा क्लब पोखरालाई पोखरा पत्रकारिता पुरस्काबाट सम्मान गर्न पत्रकार महासंघ कास्कीसामु सिफारिस गरेको हो।

विगत २ दशकदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल ‘अकिञ्चन’ हाल मुलधारको मिडिया गोरखापत्र दैनिक र पोखराबाट प्रकाशित हुने समाधान दैनिकमा आबद्ध छन्।

त्यस्तै, पत्रकार गिरी सफल न्यूजमा आवद्ध छन्।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलसहित पत्रकार रुद्र श्रीसमगर र भीम थापाको पुरस्कार छनौट समितिले ‘अकिञ्चन’ र गिरीलाई स्व. जगन्नाथ सिग्देल स्मृति पुरस्कारबाट सम्मान गर्न पत्रकार महासंघ कास्कीसामु सिफारिस गरेको हो।